हनुमानघाटमा स्रोहश्राद्ध गर्नेको घुइँचो


भक्तपुर। भक्तपुरको पवित्र तीर्थस्थल हनुमानघाटमा आज स्रोहश्राद्ध गर्नेको घुइँचो लागेको छ । आश्विन कृष्णपक्ष सुरु भएसँगै १६ दिनसम्म दिवङ्गत भएका आफन्तको नाममा पिण्डदान गरिएसँगै श्राद्धको आज अन्तिम पितृपक्षका दिन पिण्डदान गर्नेको घुइँचो लागेको हो ।हनुमानघाट क्षेत्रमा पितृको सम्झनामा पिण्डदान गरेमा दिवङ्गतको आत्माले मोक्ष प्राप्ति गर्ने धार्मिक विश्वाससहित भक्तपुरका साथै आसपासका नागरिक हनुमानघाट क्षेत्रमा स्रोह्रश्राद्ध गर्न आउने गरेका पुरोहित धनेशराज राजोपाध्ययले जानकारी दिए ।
उनले भने, ‘पितृपक्षमा गरिने स्रोह्रश्राद्धमा हनुमानघाट क्षेत्रका साथै हनुमन्ते नदीसहित मुलुकभरका विभिन्न नदी तथा घाटमा गएर पिण्डदान गरी सेलाउने गरिन्छ । यसो गर्नाले आफ्नो पूर्वज दिवङ्गतले मात्र नभएर दुरदराजका आफन्त र छरछिमेकका दिवङ्गत आत्मालाई पनि मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।’


















