प्रबास

भारत–पाकिस्तान द्वन्द्वको नाम लिँदै ट्रम्पले मागे फेरि नोबेल पुरस्कार

एजेन्सी
२०८२ अशोज ५ | मध्यान्ह ०३:०६ बजे

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक नोबेल पुरस्कारको कुरा उठाएका छन् । यस क्रममा उनले मे महिनामा सुरु भएको भारत–पाकिस्तान द्वन्द्वको पनि उल्लेख गरेको भन्दै बीबीसी हिन्दीले समाचार छापेको छ । शनिबार राति एक कार्यक्रममा ट्रम्पले भने- ‘ट्यारिफ र व्यापारका कारण हामी सात फरक युद्धहरू रोक्न सफल भएका छौँ‍‍‍‍‍‍ । हामीले भारत र पाकिस्तान, थाइल्यान्ड र कम्बोडिया बिचको युद्ध रोक्यौँ ।’ 

‘आर्मेनिया र अजरबैजान र्षौंदेखि लडिरहेका थिए । भारत र पाकिस्तान बिचको युद्धलाई पनि व्यापार मार्फत रोक्यौँ । तिनीहरू व्यापार गर्न चाहन्थे’ ट्रम्पले भने । ट्रम्पले थप भने- ‘हामीले ती सबैलाई रोक्यौँ, भारत–पाकिस्तान, थाइल्यान्ड–कम्बोडिया, आर्मेनिया–अजरबैजान, कोसोभो–सर्बिया, इजरायल–इरान, इजिप्ट–इथियोपिया, र रुवान्डा–कङ्गो । यी देशहरूमध्ये ६० प्रतिशत देश व्यापारको कारण रोकिए । उदाहरणका लागि, हामीले भारतलाई भनेका थियौँ कि यदि युद्ध भयो भने हामी व्यापार गर्दैनौँ ।’ 

‘त्यसपछि, मलाई भनियो कि यदि तपाईंले रुस र युक्रेन बिचको युद्ध रोक्नुभयो भने तपाईंले नोबेल पुरस्कार पाउनुपर्छ । मैले भने– ‘मैले रोकेका अन्य सात युद्धहरूको के त ? मैले प्रत्येकको लागि नोबेल पुरस्कार पाउनुपर्छ’ नोबेल पुरस्कारको सन्दर्भमा अमेरिकी राष्ट्रपतिले भने । 
 

ट्रम्पले पहिले पनि धेरै पटक भारत र पाकिस्तान बिचको द्वन्द्व रोकेको दाबी गरिसकेका छन् । तर भारतले उनको दाबीलाई हरेक पटक अस्वीकार गरेको छ । 

कमेन्टहरु