देश

चितवनको माडीमा प्लटिङ गरिएको एक सय विघाभन्दा बढी जग्गामा माओवादीको कब्जा

जगत ठाडा मगर
२०७८ साउन १६ | मध्यान्ह ०४:०४ बजे

चितवन । चितवनको माडीमा प्लटिङ गरिएको एक सय विघाभन्दा बढी जमिन मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादीले कब्जा गरेको घोषणा गरेको छ।

जिल्ला इन्चार्ज घननाथ सापकोटाका अनुसार काठमाडौंको ट्वान्टी वान ग्रुप प्रोपर्टी डिलर्स प्रालिले प्लटिङ गरेर विक्री वितरण गर्दै आएको माडी नगरपालिकाका विभिन्न स्थानमा रहेको जमिनमा पार्टीको झण्डा गाडेर कब्जा गरिएको हो।

माडी–३ पौवारीमा एक कार्यक्रम गर्दै उक्त पार्टीले नगरपालिकाले जथाभावी जमिनको खण्डीकरण गरेका कारण कब्जा गर्नुपरेको घोषणा गरेको थियो।
पौवारीमा मात्रै ट्वान्टी वान ग्रुपको करिब ५० विघा जमिन रहेको छ।

‘कार्यपालिकाको निर्णय विपरीत नगरपालिकाका मेयर र कर्मचारीहरूले जमिनको खण्डीकरण गर्न दिएर व्यक्तिगत लाभ लिइरहेको प्रष्ट देखिन्छ। हामी त्यस्तो हुन दिन्नौं,’ सापकोटाले भने, ‘हामीले मालपोत कार्यालयलाई पनि कित्ताकाट नगर्न र जग्गा रजिष्ट्रेसन पास नगर्न सचेत गराएका छौं।’ उनले कब्जा गरिएको जमिन उपयुक्त समयमा सुकुम्बासीलाई वितरण गरिने बताएका छन् ।

‘हजारौं सुकुम्बासी परिवारको बास बस्ने ठाउँ छैन। उनीहरूप्रति जिम्मेवार हुनुपर्नेमा नगरपालिका व्यापारीप्रति जिम्मेवार बनेर आफ्नै निर्णय विपरीतको काम गर्दैछ,’ सापकोटाले भने, ‘जहाँ–जहाँ यसरी खण्डीकरण गरिन्छ, त्यहाँको जमिन कब्जा गरेर सुकुम्बासी बसाल्छौं।’ उनले पार्टीले जमिन माथिको खण्डीकरण बन्द गरेर भूमाफियालाई कारबाही गर्न माग गरे। ‘जबरजस्ती जग्गाको विक्री, वितरण गर्न खोजे हामी एक्सनमा जान्छौं,’ सापकोटाले भने।

ट्वान्टी वान ग्रूप प्रोपर्टी डिलर्स प्रालिलाई माडी नगरपालिकाले दुई बिघा जमिनमा सुविधा सम्पन्न पार्क बनाई नगरपालिकालाई हस्तान्तरण गर्ने, मगुई खोलाको दुवैतर्फ बाँध लगाउने लगायतका सर्तसहित ४० विघा जमिनलाई १३१ कित्तामा विभाजन गर्न दिने निर्णय गर्दै थियो तर नगरपालिकाका प्रतिनिधिले मान्यूटमा हस्ताक्षर नगरिदिएपछि त्यो काम प्रभावित बन्दै आएको थियो।

उक्त नगरपालिकाले यसअघि नै खेतीयोग्य जमिन प्लटिङ गर्न नदिने निर्णय गरेको थियो। मन्त्री परिषद्को निर्णय पछि भूमिसुधार तथा व्यवस्था मन्त्रालयले देशभरका सम्पूर्ण स्थानीय तहलाई खेतीयोग्य जग्गाको कित्ताकाट रोक्न निर्देशन दिएको थियो। तर, उक्त निर्देशनको अटेरी गर्दै माडी नगरपालिकाले २०७६ सालको वैशाख, कात्तिक र पुसमा जमिनको कित्ताकाटका लागि मालपोत कार्यालय माडीमा सिफारिस पठाएको थियो।

माडी नगरपालिकाले जग्गा प्लटिङको लागि २०७६ सालको वैशाख ५ मा १२ विघा ५ कट्ठा, पुस १४ गते ९ बिघा ११ कट्ठा १ धुर जग्गा खण्डीकरणको स्वीकृति दिएको थियो। जग्गाको उपयोगिता मूल्याङ्कन वा सिफारिस निर्देशक समितिको निर्णयलाई आधार नबनाइकन मेयर ठाकुर ढकालले २०७६ सालको कात्तिक २६ गते ट्वान्टी वान ग्रुपले दिएको निवेदनका आधारमा कित्ताकाटको स्वीकृति दिएका थिए।

तर स्थानीय राजनीतिक दलहरूले विरोध गरेपछि नगरपालिकाले पछिल्लो पटकको निर्णय कार्यान्वयनमा ल्याउन सकेको छैन।

कमेन्टहरु