चिरिच्याट्ट पारिँदै सिंहदरबार, मर्मत र रङरोगन धमाधम


काठमाडौँ, असोज ४। जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबारलाई पुरानै चमक दिलाउन धमाधम मर्मतसम्भार र रङरोगन गरिएको छ । जेनजी प्रदर्शनपछि सुनसान र खण्डहर जस्तै बनेको राजनीतिक र प्रशासनिक केन्द्र सिंहदरबारमा मर्मत र रङरोगनले चहलपहल बढेको छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पदभार ग्रहणका क्रममा जेनजी प्रदर्शनका क्रममा सिंहदरबारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै चाँडो भग्नावशेष हटाई भित्तामा रङरोगन गरिने बताउनुभएको थियो । “सिंहदरबारका कालो लागेको भित्ता रङरोगन गर्छौं, हामी विनाशबाट चाँडै उठ्यौँ है भनेर सन्देश दिन जरुरी छ”, उहाँले भन्नुभयो, “तत्कालै मर्मतसम्भार र पुनःनिर्माण गरी केही महिनाभित्रै उठ्यौँ भन्ने सन्देश दिन्छौँ ।”
प्रदर्शनका क्रममा कार्यालय क्षतिग्रस्त भए पनि शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका कर्मचारी गत भदौ २८ गते बिदाका दिन पनि कार्यालय आई सरसफाइ र मर्मतमा जुटेका थिए । हाल पूर्ण रुपमा क्षतिग्रस्त भएका मन्त्रालयका कर्मचारी ‘रोस्टर’ बनाएर हाजिरी गर्ने र सरसफाइमा जुट्दै आएका छन् ।
सङ्घीय सचिवालय, निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिटेन्डेन्ट इन्जिनियर चक्रवर्ती कण्ठले विशेष परिस्थिति भएकाले आवश्यक कर्मचारी खटाइ काम सुरु गरिएको बताउनुभयो । “अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रङरोगनको काम आफै सुरु गरे पनि बाँकी मन्त्रालय र कार्यालयको काम हामीले अगाडि बढाएका छौँ, जतिसक्दो छिटो काम सम्पन्न गर्ने लक्ष्यका साथ रङरोगन भइरहेको छ”, उहाँले भन्नुभयो ।
जेनजीको प्रदर्शनका क्रममा गत भदौ २४ सिंहदरबार परिसरमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपक्षी, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, शिक्षा तथा विज्ञान प्रविधि, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास र अर्थ मन्त्रालयमा आगजनीबाट क्षति पुगेको थियो । प्रदर्शनकारीले नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका संसदीय दलका कार्यालयमा आगजनी र तोडफोड गरेका थिए ।
आगजनीबाट क्षतिग्रस्त भएका मन्त्रालयमा आज बिदाका दिनमा पनि मर्मतसम्भार र रङरोगन भइरहेको देखिन्छ । रङरोगनमा खटिएका श्रमिकहरु बाँसको खट बनाई, डोरीमा झुन्डिएर धमाधम काम गरिरहेका छन् । प्रदर्शनकारीले ध्वस्त तुल्याएका गृह र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हकमा भने ठूलो क्षति पुगेकाले सामान्य मर्मत र रङरोगनले नपुग्ने भएपछि पुनःनिर्माण गरिने भएको छ ।
मन्त्रालय क्षेत्रका पार्किङस्थलमा जलेर नष्ट भएका चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधन जलेर असरल्ल बनेका सवारीको व्यवस्थापन पनि चलिरहेको छ ।
जेनजी प्रदर्शनका क्रममा सिंहदरबारभित्र रहेका रक्षा, कानुन तथा संसदीय मामिला, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास, परराष्ट्र, श्रम तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलगायतका मन्त्रालयमा सामान्य क्षति पुगेको छ । साथै नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय योजना आयोग अराजक समूहबाट बचेका छन् ।























