‘समयमै रोगको पहिचान गरे मिर्गौला बचाउन सकिने’


काठमाडौँ, असोज ४। समयमै मिर्गौला रोगको पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिने एक अध्ययनले देखाएको छ । वीर अस्पतालमा पछिल्लो ५०० जना मिर्गौला बिग्रेर निकालिएका बिरामीहरुमाथि गरिएको अध्ययनले ९० प्रतिशत मिर्गौलाका बिरामीले समयमै उपचार गरेको भए बचाउन सकिने देखिएको हो ।
पत्थरीले पिसाब आउने बाटो बन्द गरिदिन्छ र पिसाब थैलीमा पिसाब नआए मिर्गौला फुल्लिँदा मिर्गौला बिग्रने गर्दछ । यसरी एउटा मिर्गौला फुल्लिए पनि अर्को मिर्गौलाले काम गर्ने हुँदा बिरामीले मिर्गौला फुल्लिएको थाहा पाउँदैनन, जसले गर्दा अर्को मिर्गौला बिग्रने चिकित्सकहरुको भनाइ छ ।
जन्मजात मिर्गौलाको पिसाब थैलीमा जाने मुख बन्द भए पनि मानिसको २० देखि ३० वर्षको बीचमा मिर्गौला बिग्रने प्राडा बस्नेतले बताउनुभयो । संसारमा एकदेखि चार प्रतिशत मानिसको एउटा मात्र मिर्गौला हुने गर्दछ ।
पानी कम खानाले, मधुमेहका बिरामी, मद्यपानका कारण मिर्गौला बिग्रने गर्दछ । ‘पेनकिलर’ औषधि ९आइबुप्रोफेन, निमेसुलाइड० आफूखुसी खाँदा पनि मिर्गौला बिग्रने गर्दछ ।
वीर अस्पतालमा मिर्गौला बिग्रेका ५०० जनामध्ये २२० जना पहिलोपटक अस्पताल आएको प्रमुख कन्सल्ट्यान्ट प्राडा बस्नेतले जानकारी दिनुभयो । अध्ययनअनुसार पुरुषको तुलनामा महिलाको बढी मिर्गौला बिग्रने समस्या देखिएको छ । उहाँका अनुसार पुरुषको तुलनामा महिलामा डेढ गुणा बढी मिर्गौला बिग्रने गरेको छ ।
उहाँले मिर्गौला बचाउनका लागि जीवनशैलीमा परिवर्तन गर्नुपर्ने बताउनुभयो । पानी दिनमा तीन लिटर पिउने, मोटोपन घटाउने, फलफूल प्रशस्त खाने, नियमित मिर्गौलाको जाँच गर्ने गर्नुपर्दछ ।























