युवा पुस्ताको सीप र ज्ञान सदुपयोग गरी समृद्धिको यात्रामा लाग्न पूर्वराष्ट्रपति भण्डारीको जोड


काठमाडौँ, असोज ३। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नवयुवा र युवाहरुमा रहेको जाँगर, ऊर्जा, सिर्जनशीलता, ज्ञान र सीपलाई सदुपयोग गरी समृद्धिको यात्रामा जोड दिनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।
“अब देश हाँक्ने जिम्मेवारी नवयुवा र युवा पुस्तासँग रहेको छ । युवाहरुमा रहेको जाँगर, ऊर्जा, सिर्जनशीलता, ज्ञान र सीपलाई सदुपयोग गरी समृद्धिको यात्रामा लगाउनु अहिलेको आवश्यकता हो । युवाहरुको माग, दबाव र स्वाभाविक आक्रोशलाई सकारात्मक रुपमा ग्रहण गरी स्वयं युवा, देश र जनताको हितमा सदुपयोग गर्न सक्नु सबैको दायित्व हो”, पूर्वराष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा उल्लेख छ ।
मुलुकलाई राजनीतिक अस्थिरता र अन्यौलतातर्फ धकेलिन नदिनका लागि मिहेनत गर्नुपर्ने उत्तिकै जिम्मेवारी राजनीतिक दलहरुको पनि रहेको उल्लेख गर्दै उहाँले देशको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनता अटल राख्न सबै जिम्मेवार पक्षहरुको परिस्थितिको सूक्ष्म विश्लेषण पक्षपोषक र राष्ट्रियता प्रवद्र्धक भएकाले जस्तोसुकै कठिन परिस्थितिमा पनि सही निर्णय लिन चुक्नु हुँदैन भन्नुभएको छ । वर्तमान परिस्थितिमा दलहरु बीचको आपसी प्रतिस्पर्धालाई थाती राख्दै, मनोमालिन्यता र तीक्ततालाई हटाएर संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि एक ढिक्का बन्नुपर्नेमा पूर्वराष्ट्रपति भण्डारीले जोड दिनुभएको छ ।























