जबसम्म ओलीले अध्यक्ष छाड्दैन, तबसम्म पार्टी एकता संभव छैन : रामकुमारी झाँक्री


काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्दै अध्यक्ष पद छाडेपछि मात्रै पार्टी एकता संभव रहेको बताएकी छन् ।
शनिबार अखिल फोर्सको बृहत कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले मुलुकको राजनीतिलाई अहिलेको स्थितिमा पुर्याउनेहरु मूलधारबाट बाहिर निष्कासन नभएसम्म पार्टी एकता हुन नसक्ने बताइन् । ‘जतिबेला आजको राजनीतिलाई यो स्थितिमा पुर्याउनेहरु मेनस्ट्रिमबाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्, त्यतिबेला मात्र पार्टी एकता हुन्छ’ झाक्रीले भनिन् ।
‘प्रतिगमनकारीको अध्यक्षतामा कुममा कुम जोडाएर हामी बस्दैमा कम्युनिस्ट आन्दोलन सुदृढीकरण हुन्छ ?, एकता हुन्छ ?’ उनले प्रश्न गरिन्, ‘चुनावमा मान्छेले भोट हाल्छन् ? राजनीति भनेको भन्ने एउटा गर्ने अर्को हो ?’ आफू पार्टी एकता विरोधी नभएको तर कम्युनिस्ट आन्दोलनको विर्सजन कसले गर्यो ? पुस ५ र जेठ ७ प्रतिगमन कि जनादेश भन्ने प्रष्ट हुनुपर्ने बताइन् ।
एमालेभित्र संसद विघटनलाई प्रतिगमन र जनादेश बन्ने दुईथरि मत रहेको भन्दै उनले यसमा समान धारणा नहुँदासम्म पार्टी एकता कसरी हुन सक्छ भनी प्रश्न गरिन् । ‘यो प्रतिगमन हो कि जनादेश प्राप्त हो, हामी एउटै पार्टीमा हुने हो भने यसमा एउटै धारणा हुन सक्छ कि सक्दैन’ उनले प्रश्न गरिन् ।
यसको जवाफ १० बुँदे सहमतिले दिन नसक्ने नेतृ झाँक्रीको भनाइ रहेको छ ।






















