जनमतका वरिष्ठ उपाध्यक्षसहित छ जनाको सामूहिक राजीनामा


काठमाडौँ, असोज २। जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ जनाले सामूहिक राजीनामा दिएका छन् ।नेतृत्व परिवर्तनको माग पुरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा शरदसिंह यादव, केन्द्रीय संयोजक कुमार यादव, सिके सिंह, वरिष्ठ प्रदेश इञ्चार्ज ९सुदुरपश्चिम प्रदेश० राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बमले सामूहिक राजीनामा दिएका हुन् ।
“देशको विषम परिस्थितिलाई मध्यनजर गरी जनभावना अनुरुप पार्टीको प्रमुख नेतृत्वलाई आत्मआलोचना गरी नेतृत्व परिवर्तनको निम्ति अल्टिमेटमसहित हामीले माग गरेको राजिनामा पत्रलाई तपाईँले अपहेलना गरी जेनजीले बगाएका रगतको अपमान गरी उल्टै नेता कार्यकर्तालाई अङ्हकारको भाषामा आफ्नो आधिकारीक फेसबुकमार्फत धारणा सार्वजनिक गरी सकेपछि हाम्रो ध्यानकर्षण भएको छ”, राजीनामा पत्रमा भनिएको छ, “त्यसैलाई आधार मानी आजैको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी हामी पार्टीबाट राजीनामा गर्दछौँ ।”


















