तुइनबाट युवक खसेको घटनालाई निष्पक्ष छानबिन गर्न भारत सरकारलाई माधव नेपालको आग्रह

जगत ठाडा मगर
२०७८ साउन १६ | मध्यान्ह ०३:०४ बजे

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलामा तुइन तर्ने क्रममा एक युवक महाकालीमा बेपत्ता भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
शनिबार अखिल फोर्सको कार्यक्रममा नेपालले घटनामा लापरबाही गर्ने जोसुकै व्यक्ति भए पनि कारबाही हुनुपर्ने बताए । उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई दण्डित गर्ने काममा भारत सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘यस्तो लापरबाही गर्ने जोसुकै होस्, त्यस्तालाई दण्डित गर्ने काममा भारतको ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने, ‘नेपाल सरकारले पनि यो विषयमा आवाज उठाउनका लागि म ध्यानाकर्षण गराउछु ।’
शुक्रबार दार्चुलामा नदीमा तुइन तर्ने क्रममा एसएसबीले तुइनको डोरी काट्दा ब्याँस गाउँपालिकाका युवक जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका छन् ।






















