मन्त्री घिसिङद्वारा जलेका सवारीसाधन व्यवस्थापन गर्न निर्देशन


काठमाडौँ, असोज १। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरुप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न उहाँले आज निर्देशन दिनुभएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।
उहाँले विनासबाट हामी उठ्यौँ भन्ने सन्देश दिन सामान्य अगलागी मात्र भएका भवनका बाहिर भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालय परिसरमा आगलागीबाट क्षति भएका सवारीसाधन तुरुन्त हटाउने र क्षतिको मूल्याङ्कन तत्काल गर्ने काममा जुट्न निर्देशन दिनुभयो ।मन्त्री घिसिङले ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग सङ्कलन गरी पुनर्निर्माण सुरु गरिने स्पष्ट गर्नुभयो ।
सहरी विकास मन्त्रालयले मातहतका संरचनमा पुगेको क्षति यकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको जनाएको छ ।























