कारागारबाट भागेका सात जना कैदी झापाबाट पक्राउ

रासस
२०८२ भदौ ३१ | बिहान ११:०५ बजे

झापा । जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदी यहाँ पक्राउ परेका छन् । यही भदौ २४ गते काठमाडौँको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका पाँच पुरुष र दुई महिला कैदीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रविण श्रेष्ठले बताए ।
नेपालबाट भागेर दक्षिणी सीमा हुँदै भारतको किशनगञ्ज पुगेका २३ वर्षीय नवलकिशोर नाम भएका एक कैदीलाई भारतीय प्रहरीले पक्राउ गरेर केचनास्थित इलाका प्रहरी कार्यालयलाई बुझाइदिएको छ । उनी भारतीय नागरिक भएको बताइएको छ । सुनसरीको झुम्का कारागारबाट भागेका जबर्जस्ती करणी मुद्दाका कैदी कनकाई नगरपालिका–४ का ४५ वर्षीय बलबहादुर राईलाई परिवारले नै प्रहरीसमक्ष बुझाइदिएको छ । अरु दुई जना सुन्धारा कारागारबाट भागेका कैदी पक्राउ परेका हुन् ।


















