बैतडीको सरकारी कार्यालयद्वारा पूर्ववत् सेवा


बैतडी । जेनजी प्रदर्शनका कारण बन्द रहेका यहाँका सरकारी कार्यालय, विद्यालयलगायत सङ्घसंस्था पूर्ववत् अवस्थामा फर्किएका छन् । बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कार्यालयद्वारा प्रदान गरिँदै आएको सेवा प्रवाह पूर्ववत् सञ्चालनमा आएको जानकारी दिए । उनले भने, “जेनजी प्रदर्शनका कारण बन्द रहेका सरकारी कार्यालय सञ्चालनमा आउन थालेका छन् । कार्यालय खुलेसँगै सेवाप्रवाह पनि थालिएको छ ।”
सरकारी कार्यालयमा क्षति भएको विवरण प्राप्त नभएकाले सेवा सञ्चालनमा कुनै बाधा नरहेको प्रजिअ पौडेलले बताउनुभयो । यहाँका स्थानीय तहबाट प्रदान हुने सेवा पनि नियमित भएका छन् । कार्यालय खुलेसँगै सेवा पनि सञ्चालन भएका दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेशराज जोशीले जानकारी दिए ।
सरकारी कार्यालयसँगै यहाँका सङ्घसंस्था, विद्यालय पनि सञ्चालनमा आएका छन् । प्रदर्शनका कारण बन्द रहेका विद्यालय खुलेका र पठनपाठन थालिएको रौलेश्वर मावि कफलकोटका प्रधानाध्यापक नरेन्द्र भाटले बताए । उनले भने, “बन्द विद्यालय खुलेका छन् । नियमित पठनपाठन कार्य चलिरहेको छ । बालबालिकाको उपस्थिति साविककै अनुसार छ ।”
प्रदर्शनकै कारण प्रभावित बनेको जनजीवन सामान्य बनेको बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । जिल्लास्थित सरकारी कार्यालय, सङ्घसंस्था, विद्यालय, बजार खुलेका छन् । उनले भने “जेनजीको प्रदर्शन र निषेधाज्ञा र कफ्युका कारण असहज बनेको जनजीवन अब भने सामान्य बनेको छ ।”























