मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुराको मार्तडी र कोल्टी सुपथ मूल्य पसल सञ्चालनमा

उमेश रोकाया
२०८२ भदौ ३० | मध्यान्ह ०७:०५ बजे

बाजुरा , भदौ ३० । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा सोमबार अर्थात आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य व्यापार कम्पनी शाखा कार्यालय मार्तडी र कोल्टी शाखाले दशैं तिहार चाडपर्वलाई लक्षित गरी सहुलियत  पसल संचालन गरेको  खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड बाजुराका प्रमुख उमेश भण्डारीले बताउनु भएको छ ।

सरकारले भदौ ३० गतेदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । जिल्लाका खाद्य संस्थानका कार्यालयमा विभिन्न प्रकारका चामल मात्रै विक्री वितरण हुने हुँदा सुपथ मूल्य पसलमा पनि चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिएर विक्री वितरण गर्न थालिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय मार्तडीका प्रमुख उमेश भण्डारीले जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार व्यापार कम्पनीले अन्य समयमा विक्री गर्दै आएको दररेट भन्दा प्रति केजी पाँच रुपैयाका दरले खाद्यको चामल र चिनीकोे मुल्य घटाएको बताए । जिल्लाभरी सरकारले तीन हजार पाँच सय क्वीन्टल विक्री गर्नेका लागि अनुमती दिएकाले कोल्टीमा एक हजार र मार्तडीमा एक हजार क्वीन्टल खाद्य एक महिनासम्म विक्री सहुलियत दरमा हुने शाखा प्रमुख भण्डारीको भनाई रहेको छ ।

हिमाली गाउँपालिकाको धुलाचौर, विच्छ्या,बुढीनन्दा नगरपालिकाको पाण्डुसैन, र गौमुल गाउँपालिकाको घटमुनामा विक्री सहुलियत पसल पनि संचालन हुने शाखा प्रमुख भण्डारीले बताएका छन् । जिल्लामा दशैं तिहारमा खाद्यान्न अभाव नहुने भण्डारीले बताए ।  मार्तडीमा चार हजार आठ सय ८७  क्वीन्टल चामल र १५ क्वीन्टर चिनी मौज्दात रहेको छ । भने कोल्टीमा तीन हजार चार सय २८ क्वीन्टल चामल मौज्दात रहेको छ ।

भदौ ३० गतेबाट संचालन भएको सहुलियत खाद्य चामल विक्री कार्य कार्तिक १० गतेसम्म संचालन हुने भएको छ ।  खाद्य व्यापार कम्पनीले सर्वसाधारणका लागि संचालन गरेको सहुलियत छुट मुल्य पसलमा केही रुपैयाँ सस्तोको नाममा कसैले धेरै खरिद गर्न सक्ने भन्दै प्रतिव्यक्ति एक बोरा मात्रै र खरिद गर्दा सम्बन्धित व्यक्तिको नागरिकता नम्बर वा फोन नम्बर अनिवार्य गरिएको छ ।

सुपथ मूल्य पसलमा अन्य खाद्य वस्तु, स्थानीय बाली खरिद गर्न जिल्लाका पालिकाहरुसँग समन्वय भइरहेको कार्यालय प्रमुख भण्डारीको दाबी रहेको छ । हाल मार्तडीमा अरुवा मोटा  चार हजार ६ सय ४० क्वीन्टल र जिरा मसिनो  दुई सय ४७ क्विन्टल र कोल्टीमा अरुवा  मोटो चामल तीन हजार एक  सय १३ क्विन्टल र जिरा मसिनो तीन सय १५ क्वीन्टल  मौज्दात रहेको छ । सुपथ मुल्य पसल सञ्चालन भएपछि कार्यालयमा अहिले अरुवा मोटो चामलकोे प्रतिकिलो ५७ रुपैयाँ, जिरा मसिनो ८५ र चिनी प्रतिकिलो एक सय रुपैयाँमा विक्री वितरण भइरहेको छ । सरकारले खाद्य व्यापार कम्पनी शाखाहरुमा सहुलियत छ्ट मुल्य पसल संचालन गरेको भएपनि जिल्लाको स्वामीकार्तिक गाउँपालिकामा भने विक्री केन्द्रमा सहुलियत पसल संचालन नहुने भएको छ ।‎मुक्तिकोटमा चामल टेण्डर भएर विक्री केन्द्रमा साउनमा नै लगिएकाले सहुलियतमा विक्री भइसकेको छ ।

सरकारले देशभर एकसाथ सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपनि ३० गतेभित्र अनिवार्य सञ्चालन गरिसक्नुपर्ने निर्देशन कार्यालयले जनाएको छ । ‎सुपथ मूल्य पसल आगामी कार्तिक १० गतेसम्म सञ्चालन हुने छन् । सरकारले हरेक वर्ष बजार वस्तुहरु अभाव हुन नदिन र नागरिकलाई केहि सहुलियतका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत चाडपर्व लक्षित सुपथ मूल्य पसल गर्दै आएको छ ।

कमेन्टहरु