चितवन जिल्ला अदालतबाट आजदेखि सेवा सुरु


चितवन, भदौ ३०।चितवन जिल्ला अदालतले आजदेखि सीमित सेवा सञ्चालन गरेको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको अदालतले सामान्य सेवाहरू सुरु गर्न लागेको हो ।कार्यालयका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार आजदेखिबन्दीप्रत्यक्षीकरण निवेदनमा कार्वाही गरिने, म्याद थप, जरुरी पक्राउ पुर्जीसहितका सेवा सञ्चालन गर्न लागिएको हो ।
उहाँले भन्नुभयो, “एउटा कोठाबाट दिन सकिने सामान्य सेवाहरू आजदेखि सुरु गरिएको छ ।” अदालतले यही भदौ २४ गतेदेखि आन्दोलनका कारण सेवा दिन सकेको थिएन ।अन्य नियमित सेवा, मुद्दा सुनुवाइलगायत काम कार्वाही अर्को सूचना जारी गरेर जानकारी दिइने उहाँले बताउनुभयो । प्रदर्शनकारीले आगजनी गर्दा अदालत भवन पूर्ण रूपमा क्षति भएको छ । अदालतको भौतिक संरचनासहित महत्त्वपूर्ण मिसिल, सर्भरलगायतमा क्षति पुगेको छ । उहाँले भन्नुभयो, “संरचना बन्दै जाँदा सेवा विस्तार र थप गर्दै लगिनेछ ।”


















