म्याद सकिएका खाद्य वस्तु र कस्मेटिक्स सामानका छापा


बिहीबार प्रहरी र वाणिज्य विभागले छापा मारेर खाने म्याद सकिएका ओरियो बिस्कुटसहित बर्नभिटा, स्नेकर्स चकलेट, ट्याङ जुस लगायतका दर्जनौं उत्पादन फेला परेको छ । ती सबै उत्पादन नयाँ मिति राखेर बजार पठाएको पाइएको छ ।
‘स्नेकर्स चकलेट, ओरियो बिस्कुट, प्रिङ्गल्स बच्चाहरुले निकै रुचाउँछन् । आम उपभोक्ताले उत्पादन र उपभोग्य मिति हेरेर विश्वास गर्ने चल्तीको खाद्य, पौष्टिक र सौन्दर्य सामग्रीमा ठूलो बदमासी भइरहेको बिहीबारको घटनाले देखाएको छ । महानगरीय प्रहरी अपराध महाशाखा नयाँ बानेश्वरका प्रवक्ता रहेका एसपी ईश्वर कार्की बिहीबारको अपरेशनमा पौष्टिक तत्वको रुपमा बिरामीले खानेदेखि बालबालिकाले मनपराउने जंकफुडसम्म म्याद सकिएको पाइएको बताएका हुन् ।
म्याद सकिएका चकलेट, खाद्य वस्तु र कस्मेटिक्स सामानका बास्तविक उत्पादन र म्याद गुज्रिसकेको उपभोग्य मिति केमिकलले मेटेर मेशिनले नयाँ मिति लेख्ने गरेको पाइएको उनले बताए । ‘तीनवटा घरका सबै कोठा र बाथरुममा नयाँ म्याद टाँस्न राखिएको म्याद गुज्रिएका वस्तुहरु भेटिए’, एसपी कार्कीले भने, ‘अनुसन्धान जारी छ, थप कुरा खुल्दै जानेछ ।’
बिहीबार रंगेहात कलंकीबाट पक्राउ परेका रोनक बोथ्राले यस्तो काम दुई वर्षदेखि गरेको बयान दिएका दिए । महाशाखाका प्रवक्ता एसपी कार्की नाम चलेका सबैजसो कम्पनीका म्याद सकिएका उत्पादन बजारमा पाइएकाले उपभोक्ता सचेत हुनुपर्ने बताएका छन ।
महँगै भए पनि उपभोक्ताबीच लोकप्रिय तयारी खाद्य पदार्थदेखि लक्स साबुन, डोभ स्याम्पु, भ्यासलिन, लाइफबोई साबुन, क्लोज अप र पेप्सोडेन्ट मन्जन, एक्स पर्फ्युम लगायत समेत म्याद सकिएको पाइएको छ ।
उपभोक्ता अधिकारकर्मी माधब तिमिल्सिना वितरकहरुले वस्तुको लोकप्रियता दुरुपयोग गरेर आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको बताउँछन् । ‘सडेको कति वस्तु बजारमा गए, उपभोक्तालाई कति असर ग¥यो, यसमा गम्भिर अनुसन्धान गरेर दोषीलाई कडा कारबाही हुनुपर्छ,’ उनले भनेका छन ।























