देश

राष्ट्रपति पौडेलद्वारा जितिया पर्वको शुभकामना

नवलपुर टुडे
२०८२ भदौ ३० | बिहान ०७:०५ बजे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्व, २०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्। सोमबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले जितिया पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याई आपसी सद्भाव र सहिष्णुतामा योगदान पुगोस् भन्ने शुभकामना व्यक्त गरेका हुन् ।

जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु, मधेसी तथा केही अन्य समुदायका महिलाहरूले आफ्ना सन्तान र परिवारको दीर्घायु, सुस्वास्थ्य, सफलता र शान्तिको कामना गर्दै भगवान् जिमुतवाहनको पूजा आराधना गर्दै मनाउने गरिन्छ। आश्विन कृष्णपक्षको अष्टमी तिथिमा महिलाहरू कठोर उपवास बस्दै शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकार बनाई खाने र खुवाउने परम्परा परापूर्वकालदेखि चल्दै आएको छ।

उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त नेपालमा मौलिक पर्वहरूले आपसी सम्मान, सद्भाव, पारिवारिक एकता र प्रेम कायम गर्दै महिलाप्रतिको श्रद्धा तथा संस्कृतिको संरक्षणमा योगदान पुर्‍याइरहेको बताए। राष्ट्रपति  पौडेलले सन्देश मार्फत भनेका छन्, “नेपाली मौलिक सांस्कृतिक सम्पदाको संवर्द्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण निर्माण गर्न र सदाचारयुक्त जीवनशैली अपनाउन यस्ता पर्वहरूको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिन आवश्यक छ।”

जितिया सन्देश २०८२_Final

 

कमेन्टहरु