नेपालको जेनजी आन्दोलनले भारत र चीनमा कस्तो प्रभाव पार्ला ?


काठमाडौँ । गत साता नेपालमा जेनजी पुस्ताले गरेको आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो । सन् १९९७ देखि २०१२ सम्म जन्मेका मानिसलाई ‘जेनेरेसन जुमर्स’ ‘जेन जी’ भनिन्छ । इन्टरनेटको प्रभाव उल्लेखनीय रूपमा बढिरहेको समयमा यो पुस्ता जन्मियो । हुर्किंदै गर्दा यो पुस्ता सामाजिक सञ्जालमा निकै सक्रिय भए ।
यस्तो अवस्थामा धेरै प्रश्नहरू उठिरहेका छन् । परिस्थिति कसरी यति छिटो बिग्रियो ? त्यहाँको नेतृत्वले किन यसको सही मूल्याङ्कन गर्न सकेन ? नेपाल किन यति राजनीतिक रूपमा अस्थिर भएको छ ? अब त्यहाँ कस्तो प्रकारको नेतृत्व देखा पर्नेछ र नेपालमा यो विकासले भारत वा चीन जस्ता छिमेकी देशहरूको लागि के अर्थ राख्छ ?
- नेपालमा परिस्थिति कसरी यति छिटो बिग्रियो ?
बीबीसी नेपालीका सम्पादक जितेन्द्र राउत भन्छन्, ‘बाहिरबाट हेर्नेहरूलाई लाग्न सक्छ, जेनजीको विरोधले अचानक सत्ता पतन गरायो । यसको पछाडिको कारण युवाहरूको मनमा लामो समयदेखि चलिरहेको भ्रष्टाचार विरोधी आक्रोश थियो । स्पष्ट रूपमा वा मिडिया रिपोर्टहरूबाट यो सबै सामाजिक सञ्जाल प्रतिबन्धको विरोधबाट सुरु भएको जस्तो लाग्न सक्छ, तर यो केवल ट्रिगर मात्र हो ।’
नेपालीहरूले सामाजिक सञ्जालमा विशेषगरी राजनीतिक भ्रष्टाचारको विरुद्धमा लामो समयदेखि विरोध गरिरहेका थिए । यो घटनालाई मानिसहरूको मनमा पहिले नै रहेको आक्रोशको अचानक विस्फोटको रूपमा हेरिनुपर्ने राउत बताउँछन् ।
‘यसभन्दा पहिले पनि मानिसहरूले नेपो किड्सको अभियानमा आफ्नो आक्रोश व्यक्त गरिरहेका थिए र त्यही आक्रोश सडकमा उर्लियो र यो परिवर्तन भयो,’ उनले भने ।
जितेन्द्रले यहाँ कुरा गरेका नेपो किड्स भनेको नेपालका राजनीतिक नेताहरूका बच्चाहरूको विलासी जीवन शैली देखाउने सामाजिक सञ्जालमा छरिएका तस्बिर र भिडियोहरू हुन् । सामाजिक सञ्जालबाट मानिसहरूले ती नेपो किड्सले कसरी विलासी जीवन बिताइरहेका छन् भन्ने देखे । देशका कैयौं युवा ती नेपो किड्सका जीवनशैली र आफ्नो जीवनबारे तुलना गरिरहेका थिए ।
नेपालमा सत्ता परिवर्तनपछि बिस्तारै केही स्थिरता आउँदैछ भनिएको छ । तर जेनजी पुस्ताले यसलाई कसरी हेरिरहेका छन् भनेर मानिसहरूसँग यसबारे कुरा गर्दा उनीहरू अलि अलमलमा परेको काठमाडौंमा उपस्थित बीबीसी संवाददाता रजनीश कुमारले बताए ।
‘वास्तवमा यो आन्दोलनको समस्या यही हो, यसका कुनै नेता थिएन । जसको पछाडि जेनजी जुट्न सकुन् । तिनीहरूका केही मागहरू थिए र यी मागहरू पनि एउटै आवाजको रूपमा आइरहेको थिएन । मानिसहरूले फरक-फरक माग गरिरहेका थिए । जब तपाईंसँग नेता हुँदैन, आन्दोलन प्रायः छरपस्ट देखिन्छ,’ उनी भन्छन्, ‘उनीहरू भनिरहेका छन् भ्रष्टाचार बन्द हुनुपर्छ । भ्रष्टाचार अब्जेक्टिभ प्रश्न होइन, यो निकै व्यक्तिपरक छ । नयाँ सरकार आउँदैमा भ्रष्टाचार बन्द भइहाल्छ भन्ने हुँदैन । मुख्य मागहरू बेरोजगारी समाधान हुनुपर्छ र भ्रष्टाचार बन्द गर्नुपर्छ भन्ने हो ।’
- भारतलगायत छिमेकी देशलाई यसको अर्थ
शंकर भन्छिन्, ‘यो अस्थिरता भारतको लागि चिन्ताजनक छ । हामी हाम्रो वरिपरि शान्तिपूर्ण वातावरण र आर्थिक प्रगति पनि होस् भन्ने चाहन्छौं । हरेक देशमा थोरै फरक त छ । अवस्था ठ्याक्कै उस्तै छ भन्ने पनि होइन ।’
उनी अगाडि भन्छिन्, ‘अब के हुन्छ भन्नेबारे कुनै स्पष्ट सहमति छैन । अन्तरिम सरकार वा अन्तरिम व्यवस्थाको लगभग ६–७ महिनापछि नयाँ चुनाव हुने भनेर अहिले वार्ता भइरहेको छ ।’
जेनजी पुस्ताको चाहना आफ्नो आवाज पनि कुनै न कुनै रूपमा सरकारमा सुनियोस् भन्ने हो । यद्यपि नेपालमा बंगलादेशको जस्तो अवस्था छैन । जेनजी सरकारमा जान मानेनन् । नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की अब नेपालको अन्तरिम प्रधानमन्त्री बनेकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
- राजनीतिक नेतृत्वले मूल्याङ्कन गर्न नसकेकै हो ?
नेपालमा भएको आन्दोलन संगठित आन्दोलन थिएन । यस्तो देखिन्थ्यो, मानिसहरू बिस्तारै सडकमा आए र यो आन्दोलनमा परिणत भयो । त्यसो भए के नेपालको राजनीतिक नेतृत्वले परिस्थितिको सही मूल्याङ्कन गर्न नसकेको हो ? अनि यसको परिणामस्वरूप प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन बाध्य भएका हुन् त ?
यसमा जितेन्द्र राउत भन्छन्, ‘यो अचानक भयो । किनभने उनीहरूका कुनै नेता थिएनन्, न त कुनै स्पष्ट माग नै थियो । यो संगठित विरोध थिएन । जेनजी नाम मात्र थिएन, व्यवहारमा पनि यस्तै थियो ।’
जेनजीहरूले जे पनि भनिरहेका छन्, त्यो सबै सामाजिक सञ्जालमा भनिरहेका छन् । जे गरिरहेका छन्, त्यो पनि सामाजिक सञ्जालमै गरिरहेका छन् । उनीहरूको रिस पनि सामाजिक सञ्जालमै पोखिएको थियो । उनीहरूका एक वा दुई संस्थाहरू सामाजिक सञ्जालमा देखिएका छन् । तर यो सबै वृद्ध व्यक्तिहरूले प्रयोग गर्ने सामाजिक सञ्जालमार्फत भएको थिएन । यो आन्दोलन ‘डिस्कर्ड’ र ‘इन्स्टाग्राम’ जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूमा भए । यो पुस्ता फरक छ भनेर बुझ्ने प्रयास गर्नुपर्ने राउत बताउँछन् । उनीहरू केही गर्न देशमा बस्न चाहन्छन्, तर भ्रष्टाचारले देशमा उनीहरुले अवसर पाइरहेका छैनन् । त्यसैले यो आन्दोलन भएको राउतको बुझाइ छ ।
- नेपालको राजनीतिक अस्थिरतालाई बाहिरी व्यक्तिले कसरी बुझ्न सक्छ ?
‘यो परिवर्तन एक ब्रेकिङ प्वाइन्ट हो । हामीले घटनाहरूलाई यसको अघि र पछिको आधारमा हेर्नुपर्छ,’ राउत भन्छन्, ‘यदि हामीले भविष्यबारे कुरा गर्ने हो भने राजनीतिक परिपक्वताको अभाव छ, जसमा अझै पनि द्वन्द्व छ ।‘
आम जनताको जीवनमा परिवर्तनलाई लिएर कुनै परिपक्वता नदेखिएको राउतको बुझाइ छ । ‘दलहरूले आफ्नै एजेन्डा लिएर चुनाव लड्छन् । उनीहरूले बहुमत प्राप्त गरेनन् भने तिनीहरू सबैले संयुक्त सरकार बनाउँछन् र त्यसपछि एजेन्डा परिवर्तन हुन्छ,’ उनी भन्छन्, ‘अनि यो नै क्रोधको कारण पनि बन्यो । मेरो विचारमा यो घटनाले धेरै कुरा शून्यमा ल्याएको छ ।’
- आन्दोलनपछि नेपालको अवस्था कति परिवर्तन भएको छ ?
रजनीश भन्छन्, ‘यो आन्दोलनको बारेमा तपाईं यही भन्न सक्नुहुन्छ कि यो युवाहरूको रिस थियो, उनीहरूको आक्रोश थियो । तर यसले धेरै प्रकारका शंका सिर्जना गर्छ । युवाहरूले माग गरिरहेका छन्, तर यो स्पष्ट छैन तिनीहरू लोकतान्त्रिक तरिकाले आउनेछन् वा अरू केही चाहन्छन् ।’
नेपाल सन् २००८ मा गणतान्त्रिक देश बन्यो । यो १७ वर्ष मात्र भएको छ । जसलाई लामो समय मान्न सकिँदैन । आफूले नेपालका कैयौं नेता र सांसदहरूलाई भेटेको अनि उनीहरूमा नयाँ सरकारले कसरी काम गर्छ ? के संविधान पहिले जस्तै रहनेछ ? बहुदलीय लोकतन्त्रले कुन रूपमा काम गर्नेछ ? भन्ने जस्ता प्रश्नमा अन्योल रहेको राउत बताउँछन् ।
_524je5rX8N.jpg)
नेपालले अब खोज्नुपर्ने यस्ता धेरै प्रश्न छन् । ‘हरेक खालको परिपक्वताको आशा तपाईंले १७ वर्षमा गर्न सक्नुहुन्न । भारतको लोकतन्त्र ७९ वर्ष भइसक्दा त परिपक्व हुँदैछ । यो एक प्रक्रिया हो,’ रजनीश भन्छन् ।
- नेपालमा राजतन्त्रको पुनरागमन होला ?
प्रदर्शनकारीहरूले नेपालमा राजतन्त्र फिर्ताको माग गरेका छैनन्, तर यस क्रममा लोकतन्त्रका धेरै संकेतहरूलाई निशाना बनाइयो ।
जितेन्द्र राउत भन्छन्, ‘पत्रकारको दृष्टिकोणबाट हेर्दा यो सम्पूर्ण घटनामा राजतन्त्रका लागि कुनै ठाउँ छैन । भएको क्षतिलाई हेर्दा यो आन्दोलन गरिरहेकाहरूले गरेको हो भन्न पनि सकिँदैन ।’ तर लोकतन्त्रका तीन स्तम्भहरूलाई निशाना बनाएर गरिएको यो आक्रमण जानाजानी गरिएको हो भन्नु अलि अपरिपक्व हुने पनि उनी बताउँछन् ।
- नेपालको पछिल्लो घटनाक्रमको असर अरु कहाँ-कहाँ पर्ला ?
अन्तर्राष्ट्रिय कूटनीति र राजनीतिको हिसाबले नेपालमा भएको पछिल्लो घटनाक्रमले भारत, चीन र अमेरिकाका लागि धेरै महत्त्वपूर्ण अर्थ राख्छ । यस्तो अवस्थामा यो घटनाबाट कसलाई बढी चिन्तित गर्ला त ?
‘यो तीनै मुलुककका लागि चिन्ताको विषय हो, किनभने मलाई लाग्छ नेपालमा अस्थिरता वा हिंसाको डर कसैलाई पनि ठिक लाग्दैन,’ मीरा शंकर भन्छिन्, ‘निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली चीनसँग धेरै नजिक थिए । त्यसैले उनको राजीनामा चीनका लागि ठुलो घटना हो ।’
जुनसुकै बाटो खोजिए पनि त्यो लोकतान्त्रिक र संविधानको दायराभित्र हुनुपर्छ भन्नेमा उनी जोड दिन्छिन् । ‘संविधानभन्दा बाहिर गएर हिंसाको माध्यमबाट परिवर्तन ल्याउने प्रयास गर्नु तीनै देशका लागि चिन्ताजनक छ,’ उनी भन्छिन्, ‘जुन कुरा नेपालमा भयो, भविष्यमा गएर अवस्था स्थिर भएन र कुनै सम्झौता भएन भने बाहिरका मानिसहरूले यसको फाइदा उठाउन प्रयास गर्न सक्छन् ।’
अन्तरिम सरकार गठन, ६–७ महिनामा निर्वाचन भएपछि आउने संसद्मार्फत यी सबै मुद्दामा सम्झौता हुनु जरुरी भएको शंकर बताउँछिन् । सेनाले सरकार चलाएको नेपाली नागरिकहरुलाई मन नपर्ने उनको विश्लेषण छ ।
‘राजनीतिक अस्थिरता छ, तर नेपालमा लोकतन्त्रमा भएको आर्थिक प्रगति र सामाजिक विकास राजतन्त्रको समयमा भन्दा धेरै बढी छ । राजतन्त्रमा स्थिरता थियो तर स्वतन्त्रता थिएन,’ उनी भन्छिन् ।
- सेनाको भूमिका
के नेपालका राजनीतिक दलका नेता र जेनजीबिच सेनाको भूमिकाको विषयमा कुनै छलफल भइरहेको छ ?
रजनीश भन्छन्, ‘नेपालमा भएको क्षतिलाई हेर्दा यो पुनः प्राप्ति हुन कति समय लाग्नेछ भनेर अनुमान गर्न गाह्रो हुनेछ । जहाँसम्म सेनाको भूमिकाको कुरा छ, यो अग्रपंक्तिमा रहेको देखिन्छ । यस्तो आन्दोलनपछि सेनाले नै परिस्थितिलाई नियन्त्रण गरिरहेकाले उसले शक्ति आफैंमा राख्न सक्छ ।‘
जितेन्द्र राउत भन्छन्, ‘नेपाली सेनाले राष्ट्रपतिसमक्ष जेनजीका मागबारे जुन सहजीकरण गर्यो, जेनजीले यसको प्रशंसा गरेका छन् ।’
सेना सडकमा आएपछि सिर्जना भएको शान्तिले कानुनी व्यवस्थामा सुधार आएको छ, आम जनताले धेरै कडाइको अनुभव गरेका छैनन् ।
नेपालका मुख्य राजनीतिक दलहरूको भविष्यबारे जितेन्द्र राउत भन्छन्, ‘अहिले सबै राजनीतिक दलहरूले अन्तरिम सरकारलाई समर्थन गर्ने कुरा गरेका छन् । नेताहरूले भनेका छन् कि हाम्रा पुराना गल्तीहरूका कारण देशमा यस्तो समय आएको छ ।’
जेनजी आन्दोलनले राजनीतिक दृष्टिकोण धेरै परिवर्तन गरेको छ । चुनाव भएपछि बदलिँदो परिस्थितिमा पुराना नेताहरू जनतासामु कसरी पुग्नेछन् अनि कस्ता मुद्दाहरू अगाडि बढाउनेछन् भन्ने विषय भने हेर्नुपर्ने राउत बताउँछन् ।
- बदलिएको परिस्थितिमा भारतको अपेक्षा
मीरा शंकरका अनुसार नेपालका जनताले चुनेको सरकारलाई भारतले सहयोग गर्नेछ । ‘हामी नेपालको प्रगति चाहन्छौं । हामी त्यहाँको अर्थतन्त्र छिटो बढोस् र त्यहाँ राजनीतिक स्थिरता आओस् भन्ने चाहन्छौँ,’ उनी भन्छिन् ।
नेपाल नजिकको छिमेकी भएकाले जुनसुकै सरकार आएपनि भारत त्यससँग काम गर्न तयार नै हुने उनको तर्क छ ।
‘हामी यो पनि चाहन्छौं, नेपालमा भारतलाई राजनीतिक फुटबल नबनाइयोस् । ताकि भारत विरोधी भावनालाई उक्साएर राष्ट्रवादको मुद्दा उठाइयोस्,’ उनी स्पष्ट भन्छिन्, ‘नेपालमा जे जस्ता आर्थिक प्रगति हुनसक्छ, त्यो छिमेकीहरूसँगको सहकार्यमा हुनसक्छ र हामी पनि यही चाहन्छौं । त्यहाँका जनताले जेसुकै सम्झौता गरे पनि हामी त्यसलाई समर्थन गर्नेछौं र हामी आशा गर्छौं यो लोकतन्त्रको दायराभित्र र संविधानको दायराभित्र शान्तिपूर्ण तरिकाले होस् ।’























