बाढी/पहिरो, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बिच्छ्याँमा बाढीपीडित त्रिपालमुनी बस्न बाध्य

उमेश रोकाया
२०८२ भदौ २९ | बिहान ११:०५ बजे

बाजुरा , भदौ २९ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाको बिच्छ्याँमा बाढी र पहिरो गएको एक महिना पूरा भएको छ। साउन २८ गते आएको बाढीले बिच्छ्या र कुवाडीका अधिकांश बासिन्दा घरबारविहिन बनेका थिए।

बाढीले बिस्थापित भएको एक महिना बितिसक्दा समेत गाउँपालिकाको वडा नम्बर १ बिच्छ्याका ८ र वडा नम्बर –५ कवाडीका आधा दर्जन पिडीत परिवार पालमुनी बस्न बाध्य छन्। पीडित आइसिंह बोहराले आफ्नो घर र जग्गा सबै बगाउँदा अहिले सम्म पनि पानी परेको दिन रातभर पालैमा जाग्राम बस्नु परेको पीडा पोख्नुभयो।

‎उहाँका अनुसार, “बाढी गएको दिनदेखि अहिलेसम्म पालभित्रै जीवन बिताइरहेका छौं, पानी परे झन् डरै डर हुन्छ।” गाउँपालिका र वडा कार्यालयमार्फत बाढी गएको केही दिनमै केही राहत सामग्री उपलब्ध गराइए पनि पर्याप्त सहयोग नहुँदा दैनिकी थप कठिन भएको पीडितको गुनासो छ।

वडा अध्यक्ष जोख भण्डारीले हालसम्म आवश्यक राहत र पुनस्र्थापना नहुँदा पीडितहरू पालभित्रै दिन काट्न बाध्य भएको जानकारी दिनुभयो । यसैबीच, गाउँपालिका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बाढी गएको केही दिनमै संघ र प्रदेश सरकारलाई पिडीतको तत्काल पुनस्र्थापनाका लागि अनुरोध गरिएको भए पनि अहिलेसम्म कुनै निर्णय नआएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बाढीका कारण करिब १ सय घर र विभिन्न सरकारी संरचनाहरू समेत उच्च जोखिममा परेका छन्।

कमेन्टहरु