संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्च अदालतको व्याख्याविपरीतः कांग्रेस


काठमाडौँ, भदौ २८ । नेपाली कांग्रेसले शान्ति संविधान र लोकतन्त्रका पक्षमा पार्टी रहेको स्पष्ट गर्दै संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्च अदालतको व्याख्याविपरीत रहेको जनाएको छ ।
जेनजीले प्रस्ताव गरेको व्यक्तिलाई नै अन्तरिम सरकारको नेतृत्व दिएर अघि बढ्नुपर्ने र त्यसले मात्र बदलिएको परिस्थितिबमोजिमको समाधान दिने उल्लेख गर्दै कांग्रेसले ‘आवश्यकताको सिद्धान्त’अनुरुप संविधानबमोजिम वैधानिक बाटोबाट नै अगाडि बढाउन सकिने सुझाव दिएको थियो ।
कांग्रेसले भदौ २३ र २४ मा भएको अप्रिय तथा अनपेक्षित घटनाहरुको छानविन गरी कार्वाहीको दायरामा ल्याउँदै पुनर्निर्माणमा जुट्नुपर्ने र संविधानसभाले निर्माण गरेको संविधान, त्यसले लिपिबद्ध गरेका परिवर्तन र उपलब्धिलाई जोगाउनुपर्ने आग्रह गरेको छ । “त्यसैले यो अवस्थामा एकातर्फ कसैले उत्तेजना नफैलाओस् र अर्कोतर्फ संवैधानिक रिक्ततामा टेकेर जनताले दशकौँको सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धि उल्ट्याउने दुस्प्रयास नहोस् भन्नेतर्फ पनि सचेततापूर्वक ध्यान दिनुपर्नेछ, यो गुरुत्तर दायित्व कांग्रेससँग अपेक्षित छ”, मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्थितिलाई थप बिग्रिन नदिन र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई ‘लिक’ बाहिर जान नदिन कांग्रेसले पार्टीभित्र, अन्य राजनीतिक दल तथा नागरिक समाजलगायतसँग परामर्श गरी शान्ति, लोकतन्त्र, अग्रगमन तथा समुन्नतिका पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
बैठकले पछिल्लो आन्दोलनमा जीवन गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण घाइतेको उपचारको प्रबन्ध गर्न ध्यानाकर्षण गराएको छ । सिंहदरबारसहित जलेका समग्र संरचनाको मूल्याङ्कन गरी अविलम्ब पुनर्निर्माण लागत र योजनातर्जुमा गर्न ध्यानाकर्षण गराएको छ ।























