मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीले मन्त्रालयको भवनमा खासै क्षति नभए पनि मन्त्रालयअन्तर्गतका सडक विभाग र यातायात विभाग भने जलेर सखाप भएको जानकारी दिए। ‘अहिले पनि यी भवनभित्र आगो बलिरहेको छ। ललितपुर महानगरपालिकाको दमकल ल्याएर आगो निभाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘भवन मात्रै होइन गाडीहरू पनि जलेका छन्। कति गाडी जले र भवनको क्षति कति भयो भन्ने विवरण आइसकेको छैन।’
प्रवक्ता अधिकारीका अनुसार क्षतिको विवरण छिट्टै संकलन हुनेछ। सिंहदरबारका कलात्मक प्रशासनिक भवनहरू आगलागीका कारण खरानीमा परिणत भएका छन्। प्रदर्शनकारीले सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत, शीतल निवासलगायतका विभिन्न मुख्य सरकारी संरचनामा आगजनी गरेका थिए।
सिंहदरबार पुगेका कर्मचारीले जलेका भवनको सरसफाइ गर्न थालेका छन्। मुख्य सचिव एकनारायण अर्यालले आजै जलेका भवनको स्थलगत अवलोकन गरेका थिए। प्रदर्शनकारीले सरकारी भवन र कार्यालयलाई निशाना बनाउँदा अपूरणीय भौतिक क्षति भएको अनुमान गरिए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ।

























