पानी ट्याङ्की लिक हुँदा अहमदावाद विमान दुर्घटना भएको हो ?


काठमाडौँ । २०२५ को जुन १२ का दिन अहमदाबाद विमानस्थलबाट उडान भरेको एयर इन्डियाको एआई–१७१ उडान केही बेरमै दुर्घटनाग्रस्त भयो । सो दुर्घटनामा परेर २२९ जना यात्रु, चालक दलका १२ सदस्य र १९ जना सवार रहेका कुल २६० जनाको मृत्यु भएको थियो ।
यसमा परेर मृत्यु भएका अमेरिकी नागरिकका परिवारका वकिलले विमान दुर्घटनाको विषयमा आश्यर्चजनक दाबी गरेका छन् । नयाँ प्रमाणहरूले विमानको पानी ट्याङ्कीमा चुहावटका कारण सर्ट सर्किट भएको सङ्केत गरेको अमेरिकी वकिल माइक एन्ड्रयूजले बताए । उनले विमानको ब्ल्याक बक्सको डेटा पनि मागेका छन् ।
विमान पाइलटको गल्तीको कारणले नभएर पानी चुहिएर सर्ट सर्किट हुँदा दुर्घटनामा परेको एन्ड्रयूजले नयाँ प्रमाणको आधारमा दाबी गरेका छन् ।इन्धन नियन्त्रण स्विचहरू सर्ट सर्किटका कारण स्वचालित रूपमा बन्द हुन सक्ने दाबी उनको थियो । एन्ड्रयूजले आफ्नो दाबीको समर्थनमा अमेरिकी सङ्घीय उड्डयन प्रशासन(एफएए) को उडान निर्देशनहरूलाई उल्लेख गरेका छन् ।
२०२५ को मे १४ मा सङ्घीय उड्डयन प्रशासनले जारी गरेको निर्देशनमा विमानको वाटरलाइन कपलिंगमा पानी चुहावटका धेरै घटनाहरू रिपोर्ट गरिएको उनले भनेका छन् । पानी चुहिएर विमानको इलेक्ट्रोनिक उपकरण क्षेत्रमा ओसिलोपन हुने निर्देशनहरूमा चेतावनी दिइएको पनि उनले बताए ।
एफएएका अनुसार, पानी चुहावटका कारण इलेक्ट्रोनिक उपकरणहरू भिजेको र सर्ट सर्किट हुन सक्ने भनिएको छ । आफ्नो निर्देशनमा एफएएले बोइङको ७८७–८, ७८७–९, ७८७–१० जस्ता केही मोडेलका विमानहरू स्पष्ट रूपमा उल्लेख पनि गरेको छ । दुर्घटनामा परेको एयर इन्डियाको विमान पनि ७८७–८ ड्रीमलाइनर थियो ।























