कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यु


कञ्चनपुर । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले दिउँसो निषेधाज्ञा, राति कर्फ्यु आदेश जारी गरेको छ । बिहीबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी आदेशमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यु आदेश जारी गरिएको हो । आदेशमा महेन्द्रनगर बजारको तीन किलोमिटर क्षेत्र, पूर्वपश्चिम राजमार्गको दायाँबायाँ तीन किलोमिटर क्षेत्र र जिल्लाको बेलौरी पुनर्वास, बेलडाँडी तथा लालझाडी गाउँपालिकाको केन्द्रभित्रका बजार क्षेत्रमा निषेधाज्ञा लागू गरिएको प्रजिअ ढकालले जानकारी दिए ।
उनका अनुसार साँझ ७ देखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको हो भने बिहान ६ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा जारी रहने छ । अत्यावश्यक कामका लागि बिहान ६ देखि १० बजेसम्म र अपराह्न ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिने ढकालले बताए ।
जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (१), ६ (३) र ६ (क) बमोजिम कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी निषेधाज्ञा जारी भएको छ । प्रशासनले अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ ६ (१), ६ (३) बमोजिम निषेधाज्ञा र ६ (क) बमोजिम कर्फ्यु आदेश गरेको जनाएको छ ।























