आन्दोलनका क्रममा खण्डहर बनाइएको भैँसेपाटीको प्रहरी प्रभाग स्थानीयको पहलमा पुनःस्थापना


ललितपुर । आन्दोलनका क्रममा जलेको ललितपुर महानगरपालिका–२५ भैँसेपाटीस्थित प्रहरी प्रभाग स्थानीयले पुनःस्थापना गरेका छन् । यही भदौ २३ र २४ गते ‘जेनजी’को नेतृत्वमा भएको आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रहरी प्रभाग बुङ्गमती भैँसेपाटीमा आगो लगाइदिएपछि त्यहाँका सबै सामग्री जलेर नष्ट भएका थिए ।
प्रभागमा हाजिर हुन आएका प्रहरी निरीक्षकसहितको टोलीलाई वडा नं २५ का अध्यक्ष दौलतकुमार खत्री, वडा २२ का वडाअध्यक्ष सागर तुलाधर र २१ नं वडाअध्यक्ष रवीन्द्र महर्जनसहित स्थानीयले स्वागत गरेका थिए ।
प्रहरी टोलीलाई स्वागत गरेसँगै जलेको भवन पुनः मर्मत गरी प्रयोगमा ल्याउनका लागि स्थानीयस्तरबाट स्थानीय सुमन महतको संयोजकत्वमा ११ जनाको समिति गठन गरिएको छ ।
उनका अनुसार गस्तीमा जानका लागि प्रयोग हुने गरेका सबै सवारी साधन जलेकाले स्थानीयस्तरबाट केही समयका लागि गाडीको व्यवस्था गर्ने तयारी भएको छ ।
ललितपुर महानगरपालिका–२५ का अध्यक्ष दौलतकुमार खत्री, वडा नं २२ का सागर तुलाधर, वडा नं २१ का रवीन्द्र महर्जन र वडा नं १८ का दामोदर खड्काले २५–२५ हजार नगद सहयोग गरेका थिए । प्रभाग प्रमुख शर्माले वडाअध्यक्ष र स्थानीयको साथ, सहयोग तथा माया महत्त्वपूर्ण रहेको बताउँदै प्रहरी र स्थानीयको सहयोगले शान्तिसुरक्षा कायम गर्न सकिने विश्वास व्यक्त गरे ।
नक्खु कारागारका सबै कैदी–बन्दी फरार भएसँगै स्थानीयस्तरमा सुरक्षा चुनौती थपिएको र प्रहरी चौकीलाई चाँडो स्थापना गर्न जरूरी रहेको समितिका सदस्य एवं समाजसेवी देवेन्द्रकुमार गौतमले बताए । प्रभागको नेतृत्वमा ४३ जना प्रहरी, आठ जना ट्राफिक प्रहरी र फर्सिडोलको प्रहरी चौकीका अन्य आठ जना रहेका छन् ।























