पाकिस्तानः बाढी प्रभावित २० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियो


इस्लामावाद । पाकिस्तानको पञ्जाब प्रान्तमा आएको बाढीका कारण प्रभावित २० लाखभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । देशको पूर्वी भाग बाढीबाट सबैभन्दा बढी प्रभावित भएको अधिकारीहरूले बताएका छन् । सिन्ध प्रान्तमा पनि १ लाख ५० हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको पाकिस्तानका राष्ट्रिय विपद् व्यवस्थापन प्रमुख इनाम हैदर मलिकले बताएका छन् । स्थिति बिग्रिँदै गएकोले आगामी दिनमा यो सङ्ख्या अझ बढ्न सक्ने पनि उनले बताएका छन् ।
गएको जुनको अन्त्यदेखि मनसुनी वर्षाका कारण देशभर ९०० भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको समाचारमा उल्लेख छ ।जलवायु परिवर्तनले हालैका वर्षमा पाकिस्तानको बाढीको अवस्थालाई बढी गम्भीर बनाएको छ । सरकारले राम्रो सतर्कता प्रणाली र बलियो पूर्वाधार सिर्जना गर्ने जस्ता विपद्सँग जुध्ने उपायमा समयमै लगानी नगरेको गुनासो आलोचकहरूको छ ।


















