निषेधाज्ञा हटेपछि रुपन्देहीको जनजीवन सामान्य बन्दै

नवलपुर टुडे
२०८२ भदौ २७ | बिहान १०:०५ बजे

बुटवल । रुपन्देहीमा केही दिनदेखि प्रशासनले लगाएको निषेधाज्ञा र कर्फ्यु आदेश बिहान ६ बजेपछि हटाएपछि जनजीवन सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लगाएको कर्फ्यु आदेश हटाएसँगै जनजीवन क्रमशः सहज बन्दै गएको हो ।
प्रशासनले शुक्रबार बिहानसम्म लागू गरेको कर्फ्यु र निषेधाज्ञा हटाएपछि जिल्लाभर बजार, यातायात, विद्यालय तथा अन्य सेवा पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
जिल्लामा उत्पन्न अवस्थालाई ध्यानमा राख्दै प्रशासनले विगत केही दिन सुरक्षा व्यवस्था कडा पारेको थियो । तर, अहिले स्थिति नियन्त्रणमा आइसकेको र शान्तिपूर्ण वातावरण कायम भएकाले कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार आवश्यकता परेमा पुनः कडाइ गर्न सकिनेछ ।























