अर्थ

पर्साका बालसुधार गृहबाट ६७ बालबिज्याइकर्ता फरार

रासस
२०८२ भदौ २६ | मध्यान्ह ०५:०५ बजे

वीरगन्ज  । पर्साको बाल सुधारगृह तोडफोड गरेर भागेका ६७ बालबिज्याइकर्ता किशोर अझैसम्म पनि फरार रहेका छन् । गत मङ्गलवार रातको समयमा बालसुधारगृह तोडफोड गरेर भागेका उनीहरू अझैसम्म पनि पक्राउ परेका छैनन् । बाल सुधारगृहका कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेले बालसुधारगृहबाट भागेका ३३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको जानकारी दिए ।

‘गत मङ्गलवार राति बालसुधारगृहबाट भागेका ६७ जना अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन्’, उनले भने, ‘फरार भएका बाल सुधारगृहका बालबिज्याइकर्ताका अभिभावकलाई सम्पर्क गरेर तुरुन्तै सुधारगृहमा ल्याउनका लागि अनुरोध गरेका छौँ, उनीहरू नआएको खण्डमा अर्को मुद्दा चल्नेछ ।’

बालसुधारगृहमा १४२ जना बालबिज्याइकर्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले बाल सुधारगृहबाट भागेका किशोरहरूको खोजी कार्य तीव्र पारिएको जानकारी दिए । ‘बालसुधारगृहबाट भागेकाहरूको खोजी कार्य तीव्र बनाइरहेका छौँ’, उनले भने, ‘केन्द्रीय कारागार तथा भीमफेदीको कारागारबाट फरार भएका छ जना कैदीलाई पक्राउ गर्न सफल भएका छौँ, फरार भएका बालबिज्याइकर्ताको खोजी कार्य तीव्र पारिरहेका छौँ ।’
 
बुधबार वीरगन्ज कारागारमा रहेका कैदीहरू भाग्न खोज्दा तीनवटै सुरक्षा निकायले अधिकतम सावधानी अपनाउँदा कैदी तथा थुनुवा भाग्नबाट रोकिएका छन् । पछिल्लो समय यहाँको कारागारको सुरक्षा व्यवस्थापन नेपाली सेनाले लिएको छ ।

कमेन्टहरु