पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपीको ११२औँ जन्मजयन्ती मनाइँदै


काठमाडौँ । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा साहित्यकार विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ११२औँ जन्मजयन्ती आज मनाइँदैछ। नेपालको राजनीति र साहित्यमा उनको महत्त्वपूर्ण योगदानको स्मरणमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिँदैछ।
क्रान्तिपछि बनेको राणा-कांग्रेस सरकारमा बीपी गृहमन्त्री बने। वि.सं. २०१५ को पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि उनी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने। उनको कार्यकालमा बिर्ता उन्मूलन गरी “जग्गा जोत्नेको हुनुपर्छ” भन्ने भूमिसुधार कार्यक्रम लागू गरियो।
वि.सं. २०१७ पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि बीपीसहितका नेताहरूलाई सिंहदरबार र पछि सुन्दरीजल बन्दीगृहमा राखियो। स्वास्थ्य समस्याका कारण वि.सं. २०२५ मा रिहा भएपछि उनले ८ वर्ष भारतमा निर्वासनमा बिताए।
निर्वासनको समयमा राष्ट्रियता कमजोर हुँदै गएको महसुस गरेर उनले वि.सं. २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किए। यो नीति आज पनि नेपाली राजनीतिमा सान्दर्भिक मानिन्छ।
बीपी कोइराला नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक पनि थिए। उनका डेढ दर्जनभन्दा बढी कृति प्रकाशित छन्।उनका मुख्य उपन्यासहरूमा ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, र ‘बाबु, आमा र छोरा’ पर्छन्।उनका अन्य महत्त्वपूर्ण कृतिहरूमा दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ छन्। यसबाहेक, उनको आत्मकथा ‘आत्मवृत्तान्त’ र जेल जीवनको अनुभव समेटिएको ‘जेल जर्नल’ तथा ‘फेरि सुन्दरीजल’ ले त्यस समयको नेपालको राजनीतिक अवस्थाको यथार्थ चित्रण गर्छन्।
क्यान्सर रोगका कारण वि.सं. २०३९ साउन ६ गते उनको निधन भयो। बीपी र अन्य नेताहरूलाई बन्दी बनाइएको सुन्दरीजल बन्दीगृहलाई वि.सं. २०६१ भदौ २४ गते बीपी सङ्ग्रहालयको रूपमा उद्घाटन गरिएको थियो। यहाँ बीपीको जीवनसँग सम्बन्धित सामग्रीहरूका साथै वि.सं. २००७ को क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर र वि.सं. २०३० मा क्रान्तिका लागि खर्च जुटाउन अपहरण गरिएको नेपाल वायुसेवा निगमको विमान पनि राखिएको छ।
वि.सं. २०७२ को भूकम्पले सङ्ग्रहालयमा क्षति पुर्याएपछि पुरातत्व विभागले यसको पुनर्निर्माण गरिरहेको छ।























