अनुतिन बने थाइल्याण्डको नयाँ प्रधानमन्त्री

एजेन्सी
२०८२ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

बैंकक । थाइल्याण्डका अनुभवी राजनीतिज्ञ अनुतिन चार्नविराकुल देशको नयाँ प्रधानमन्त्रीको रूपमा नियुक्त भएका छन् । संसद्ले उनलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको दुई दिनपछि शाही परिवारले उनको मनोनयनलाई अनुमोदन गरेको छ ।
छिमेकी देश कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँगको विवादास्पद फोन कल मामिलामा पूर्व प्रधानमन्त्री पेतोंगतार्न दोषी ठहरिएकी थिइन् । जुलाईमा दुई देशबिच पाँच दिने सशस्त्र द्वन्द्व अघि यो फोन कल भएको थियो ।
यो फोन कलले दुवै क्षेत्रको विवादास्पद सीमा क्षेत्रमा युद्धको जोखिम बढाएको थियो । अनुतिन थाइल्यान्डलाई गाँजाको अपराधबाट मुक्त गर्नका लागि बढी चिनिन्छन् । प्रधानमन्त्रीको रूपमा शपथ लिएपछि अनुतिनले आफ्नो कर्तव्य इमान्दारीपूर्वक पूरा गर्ने कुरामा जोड दिएका थिए । आफूले पूर्ण इमानदारी र निष्ठाका साथ आफ्नो कर्तव्य पूरा गर्ने प्रतिज्ञा उनले गरेका थिए ।
शुक्रबार सदनमा उनले प्रमुख विपक्षी दल पिपुल्स पार्टीको समर्थन प्राप्त गरेका थिए । यसको बदलामा उनले चार महिना भित्र संसद विघटन गर्ने र निर्वाचित संविधान सभाद्वारा नयाँ संविधानमा जनमत सङ्ग्रह गर्ने वाचा गरेका छन् ।























