बिश्व

पाकिस्तानमा बाढी : उद्धार डुङ्गा पल्टिँदा पाँचको मृत्यु

एजेन्सी
२०८२ भदौ २२ | बिहान ०७:०५ बजे

इस्लामाबाद । बाढीले प्रभावित पाकिस्तानको दक्षिणी पन्जाब प्रान्तमा उद्धार डुङ्गा पल्टिँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढीको उद्धार गरिएको छ।

आपतकालीन व्यवस्थापन प्राधिकरणका अनुसार, शनिबार मुल्तान जिल्लामा डुङ्गा तीव्र जलप्रवाहका कारण पल्टिएको थियो, तर धेरैजसो यात्रुहरूलाई बचाउन सफल भएको थियो।

पन्जाबका राहत आयुक्त नबिल जावेदले शनिबार दिएको जानकारीअनुसार रावी, सतलज र चेनाब नदीमा आएको बाढीले ४ हजार १०० भन्दा बढी गाउँहरू प्रभावित भएका छन्, जसले गर्दा २० लाखभन्दा बढी मानिसहरूले घर छोड्न बाध्य भएका छन्।

बाढीपीडितका लागि अधिकारीहरूले ४२३ राहत शिविर, ५१२ स्वास्थ्य शिविर र ४३२ पशु स्वास्थ्य केन्द्रहरू स्थापना गरेका छन्। १५ लाखभन्दा बढी पशुहरूलाई सुरक्षित ठाउँमा सारिएको छ।

संयुक्त राष्ट्र सङ्घको तथ्याङ्कअनुसार, गत जुन महिनादेखि पाकिस्तानमा आएको मनसुनी बाढीका कारण करिब ९०० जनाको मृत्यु भएको छ।

एक नयाँ अध्ययनका अनुसार जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा रहेको पाकिस्तानमा यस वर्ष विश्वव्यापी तापक्रम वृद्धिका कारण मनसुन अझ खराब बनेको छ। पछिल्ला केही महिनाहरूमा आएको भारी वर्षा र क्लाउड ब्रस्टले पहाडी उत्तरी र उत्तर पश्चिमी क्षेत्रहरूमा आकस्मिक बाढी र पहिरो निम्त्याएको छ।

कमेन्टहरु