समाचार, समाज

जिल्ला कारागार सङ्खुवासभामा ५५ जना क्षमतामा १३९ कैदीबन्दी

रासस
२०८२ भदौ २० | मध्यान्ह ०६:०५ बजे

सङ्खुवासभा । सङ्खुवासभामा ५५ जना क्षमता भएको जिल्ला कारागार खाँदबारीमा एक सय ३९ कैदीबन्दी राखिएको छ ।जिल्ला कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा दैनिक क्रियाकलाप सञ्चालनमा समस्या भइरहेको छ ।

यहाँ एक सय ३१ पुरुष, आठ महिला कैदीबन्दी र दुई जना आश्रित बालबालिका रहेका कारागारका प्रमुख जेलर राजन घिमिरेले जानकारी दिए । 

क्षमताभन्दा बढी सङ्ख्यामा कैदीबन्दी भएकाले खानेपानी, सरसफाइलगायत दैनिक क्रियाकलाप सञ्चालनमा समस्या भइरहेको उनको भनाइ छ ।

जेलर घिमिरेका अनुसार यो कारागारमा ५० पुरुष र पाँच जना महिलाको क्षमता रहेको छ । कारागार तीन दशमलव पाँच रोपनी क्षेत्रफल फैलिएको बताउँदै उनले जग्गा पर्याप्त नहुँदा थप भवन निर्माण गर्न नसकिएको धारणा राखे ।

“क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी भएकाले खान, बस्न, शौचालय, सरसफाइलगायत गतिविधिमा समस्या हुँदै आएको छ । पुरानो र साँगुरो भवन भएकाले दैनिक जीवनयापनमा समस्या हुने गरेको कैदीबन्दीको गुनासो छ”, उनले भने । 

कैदीबन्दीहरू कारागारमा पुगेपछि मानवीय व्यवहार पाउनुपर्ने भए पनि त्यस अनुरूपको सुविधा दिन नसकिएको जेलर घिमिरेको भनाइ छ ।

“कैदी सङ्ख्याका आधारमा पर्याप्त ठाउँ छैन । कारागारमा आपत्कालीन अवस्था आएमा तत्कालै उद्धार तथा सुरक्षा दिनसमेत कठिन छ । कारागारमाथि बजार, तलतिर भिरालो र व्यक्तिको जमिन भएकाले सडक पुराउन सकिएको छैन”, उनले भने । 

कारागार जाने माथितर्फ सानो भिरालो सिडी (भर्‍याङ) ओर्लिएपछि यहाँ पुग्न सकिने घिमिरेले उल्लेख गरे । कुनै विपद् भएर कैदीबन्दीलाई तत्काल उद्धार गर्नुपरेमा एम्बुलेन्स, दमकल वा सुरक्षा निकायका गाडी पुग्नसक्ने सडक नभएको उनले बताए । 

कारागारको सुधार तथा क्षमता वृद्धि गर्नका लागि सरोकार भएका निकायलाई पटक पटक अनुरोध गरे पनि हालसम्म सुनुवाइ नभएको उनको भनाइ छ ।  

 

कमेन्टहरु