राजनीति

टिकटक बन्द गरेका प्रचण्ड फेसबुक बन्द गर्दा भन्छन् : घोर आपत्तिजनक

नवलपुर टुडे
२०८२ भदौ २० | मध्यान्ह ०६:०५ बजे

काठमाडौँ । प्रधानमन्त्री हुँदा टिकटक बन्द गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अहिले सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोध गरेका छन्। दाहाल नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते टिकटक बन्द गरेको थियो।

केपी ओली नेतृत्वको अहिलको सरकारले बिहीबारदेखि २६ वटा सामाजिक सञ्जाललाई अवरुद्ध पार्न प्रक्रिया अघि बढाएका छन्। सरकारको उक्त कार्य अलोकतान्त्रिक र संविधान विपरीत रहेको दाहालको भनाइ छ। उनले ओली सरकार सामाजिक सञ्जालमार्फत हुने आलोचना रोक्न लागि परेको दाबी गरेका छन्।

‘वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको छ। यसै क्रममा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय सरकारले गरेको छ, दाहालले सामाजिक सञ्जालमै अगाडि लेखेका छन्,

‘सरकारको यो कदम संविधानविरोधी, अलोकतान्त्रिक र जनविरोधी मात्र नभई, सामाजिक सञ्जाल प्रकाशन र प्रसारणसम्बन्धी कानूनी व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेशको अपव्याख्या समेत हो ।’

दाहालले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले नागरिकको संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता मात्र नभइ अर्थतन्त्रलाई टेवा दिइरहेका वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सम्पर्क तथा सञ्चारलाई समेत असहज बनाएको दाबी गरेका छन्। उनले भनेका छन्, ‘हाम्रो पार्टी सामाजिक सञ्जालको नियन्त्रण होइन, उचित नियमनको पक्षमा अडिग छ । त्यसैले संसदमा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागिता र अपनत्व हुने गरी अघि बढाउनुको सट्टा कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक कदम हो ।’ उनले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन समेत आह्वान गरेका छन्।

‘म संविधान प्रदत्त अधिकारको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको सम्मान र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै, यस निर्णय तत्काल खारेज गर्न जोडदार माग गर्दछु, दाहालले भने।

कमेन्टहरु