सार्वजनिक सेवालाई प्रभावकारी बनाइनुपर्छः सभापति देउवा


काठमाडौँ, वैशाख १९। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी वर्गको काँधमा सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो, चुस्त र प्रभावकारी बनाएर मुलुकमा सुशासन कायम गराउनुपर्ने गहन जिम्मेवारी रहेको बताउनुभएको छ ।
स्थायी सरकार भनिने कर्मचारीतन्त्रमा हुने नियुक्तिमा पेसागत दक्षता भएका, इमानदार र सेवामैत्री कर्मचारीको छनोटमा वकालत गर्न युनियनको सार्थक उपस्थिति बलियो हुनुपर्ने सभापति देउवाको भनाइ थियो । उहाँले भन्नुभयो, “कर्मचारीका आधारभूत आवश्यकतासँग जोडिएका समस्यामा सरकारको ध्यान जाने नै छ । म र मेरो पार्टीको सदैव सहयोग रहन्छ ।”
नेपालको लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै सङ्घर्षमा कर्मचारी युनियनको अग्रणी भूमिका रहँदै आएको र यसले कर्मचारीको हक हित तथा रक्षाका लागि आवाज बुलन्द गर्दै नेपालको ड्रेड युनियन आन्दोलनमा नयाँ ऊर्जा थपिएको सभापति देउवाले बताउनुभयो । उहाँले निजामती सेवा ऐन, २०६४ जारी गराउन खेलेको नेतृत्वदायी भूमिका विशेष स्मरणीय रहेको र यो ऐन बनेपछि कर्मचारीको पेसागत हकहित सामाजिक सुरक्षा लगायतका विषयमा नयाँ ढोका खोलेको बताउनुभयो । निजामति विधेयकमा कर्मचारीका सरोकारका विषयलाई पार्टीले चासोपूर्वक लिएको र कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल गर्ने सभापति देउवाले विश्वास व्यक्त गर्नुभयो ।
युनियनका कार्यवाहक अध्यक्ष उत्तमकुमार कटुवालले कर्मचारी ट्रेड यूनियनले सुशासन, प्रवद्र्धन, सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन रचनात्मक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सङ्घीय निजामति सेवा विधेयकमा रहेका कमजोरीलाई सच्याएर विधेयकलाई पूर्णता दिनुपर्नेमा जोड दिनुभयो ।
युनियनका निवर्तमान अध्यक्ष गोपालप्रसाद पोखरेलले संवैधानिक निकायलगायत महत्वपूर्ण निकायमा लोकतन्त्रवादी कर्मचारीको उपस्थिति बलियो हुन नसकेको बताउनुभयो । सो अवसरमा सभापति देउवाले युनियनले प्रकाशन गरेको ‘कर्मचारी’ नामक पुस्तकको विमोचन गर्नुभयो । कार्यक्रममा युनियनका निवर्तमान अध्यक्ष पोखरेल, उपसचिव दिपक रेग्मीलगायत विभिन्न ४२ व्यक्तित्वलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।






















