देश

म प्रण गर्छु, सकेको राम्रो गर्छु, नराम्रो गर्ने छैन : आईजीपी खापुङ

नवलपुर टुडे
२०८२ भदौ १९ | मध्यान्ह ०२:०५ बजे

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले सकेसम्म राम्रो गर्ने तर नराम्रो केही नगर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार गृहमन्त्रालयमा आईजीपीको दर्ज्यानी चिन्ह प्राप्त गरेपछि आईजीपी खापुङले भने, ‘प्रण गर्छु । सकेको राम्रो गर्छु । तर नराम्रो गर्ने छैन ।’

गृहसचिव गोकर्णमणि दुवाडीले गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । १३ भदौको मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपीमा नियुक्ति गरेको थियो । आईजीपी दीपक थापा ३० वर्षे सेवा अवधिबाट अवकासमा जाने भएपछि खापुङलाई बिहीबार (१९ भदौ २०८२) बाट लागू हुने गरी प्रहरी प्रमुखमा नियुक्त गरेको थियो ।

आईजीपी खापुङले महत्वकांक्षा र प्राप्तीको मोह तथा अभिलासाले होइन परिश्रम र मेहनत गर्ने उच्च आचरण निर्भिक रहने प्रतिज्ञा आफूलाई निर्देश गरेको बताए । भने, ‘तेह्रथुमको गाउँबाट निस्केको मेरो यात्रा आज नेपाल प्रहरीको सर्वोच्च पदमा पुग्न सफल भएको छ । यो यात्रामा मसँग कुनै महत्वकांक्षा र प्राप्तीको मोह तथा अभिलासाले पच्छ्याउन सकेन । तर परिश्रम र मेहनत गर्ने उच्च आचरण निर्भिक रहने प्रतिज्ञाले मलाई सधैं दिशा निर्देश गरिह्यो ।’

व्यक्ति सफल हुनेभन्दा पनि संस्था सफल बनाउन आवश्यक रहेको उनले मन्तव्यमा उल्लेख गरे । ‘व्यक्तिगत रुपमा म सफल हुनेभन्दा पनि संस्था सफल हुन अपिरिहार्य हुन्छ । यसले राष्ट्र, संगठन र समग्र प्रहरीका लागि हित गर्नेछ । त्यसैले म व्यक्ति नभई जिम्मेवार संस्थाका रुपमा नेपाल प्रहरीको श्रीवृद्धि गर्ने, नागरिकको सेवामैत्री प्रहरी सेवालाई संस्थागत गर्न समर्पित रही इमान्दार योगदान गर्नेछु’ उनले भने ।

दर्ज्यानी प्रदानपछि गृह मन्त्रालयबाट प्रहरी प्रधान कार्यालय पुगेर खापुङले पदभार सम्हालेका छन् । २०५२ कात्तिक २७ मा निरीक्षकबाट सेवा प्रवेश गरेका खापुङ हालको कानुन यथावत रहे प्रहरी नेतृत्वमा २ महिना ८ दिन रही ३० वर्षे सेवा अवधिका कारण २०८२ कात्तिक २७ मा अवकासमा जाने छन् ।

नेपाल प्रहरीप्रति आम नागरिकको आशा र भरोसा रहेको उल्लेख गर्दै उनले राज्यको तर्फबाट दूरदराजमा पुग्ने प्रतिनिधि संस्था प्रहरी रहेको बताए । भने, ‘अहिले पनि हजारौं स्थानमा प्रहरीको माग भएको छ । हामीले दैनिक हजारौं नागरिकलाई सेवा गरेका छौं । सयौंका जीवन बचाउन काम गरेका छौं ।’

कमेन्टहरु