प्रधानमन्त्री ओली चीन भ्रमण सम्पन्न गरी स्वेदश प्रस्थान

रासस
२०८२ भदौ १८ | मध्यान्ह ०५:०५ बजे

बेइजिङ (चीन) भदौ १८ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश प्रस्थान गर्नुभएको छ । उहाँ चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ १४ गते त्यसतर्फ जानुभएकामा भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीलाई बेइजिङस्थित अन्तरराष्ट्रिय विमानस्थलमा चिनियाँ उच्च अधिकारीहरू, नेपालका लागि चीनका राजदूत र चीनका लागि नेपाली राजदूतलगायतले बिदाइ गर्नुभयो । साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ गते चीनको तियान्जिनतर्फ प्रस्थान गर्नुभएको थियो । उहाँ आज बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सवका विशेष सैनिक परेड कार्यक्रममा समेत सहभागी हुनुभएको थियो ।
प्रधानमन्त्री ओलीसँग उहाँका धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद छविलाल विश्वकर्मालगायत उच्चस्तरीय सरकारी अधिकारीहरू रहनुभएको छ ।


















