पहिरोले सडक अवरुद्ध हुँदा विद्यालय बन्द

रासस
२०८२ भदौ १८ | मध्यान्ह ०३:०५ बजे

दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएपछि खल्लास्थित भीमदत्त स्मृति आधारभूत विद्यालयमा पठनपाठन बन्द भएको हो ।
आइतबारदेखि यहाँ भारी वर्षा भइरहेकाले सडकमाथिबाट आएको पहिरोले भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी जाने सडक र विद्युत सेवा अवरुद्ध भएको भीमदत्त–९ का वडाध्यक्ष गगनसिंह कार्कीले जानकारी दिए । ‘पहिरोले विद्युत्का खम्बामा समेत क्षति गरेको छ भने हालसम्म सडक खुलाउन सकिएको छैन’, उनले भने, ‘सडक अवरुद्ध भएपछि खल्ला मसेट्टी आवतजावत बन्द भएको छ ।’भीमदत्त नगरपालिकाका कार्यवाहक नगरप्रमुख केशवसिंह विष्टले वर्षाका कारण खल्ला मसेट्टीमा सडक र विद्युत् सेवा अवरुद्ध भएको बताए। ‘लगातारको वर्षाका कारण पहिरो हटाउने काम गर्न सकिएको छैन’, उनले भने, ‘विद्युत् र सडक सञ्चालनका लागि प्रयास भइरहेको छ ।’
कञ्चनपुरको दुर्गम भेगका रूपमा चिनिने भीमदत्त नगरपालिका–९ को खल्ला, मसेट्टी र टुँडिखेल विकासका पूर्वाधारबाट पछाडि परेको छ । उक्त बस्तीमा चार सय ७० परिवारको बसोबास छ । वर्षातमा बाढी पहिरोले सडक अवरुद्ध हुँदा यहाँका स्थानीयले सास्ती खेप्दै आएका छन् ।


















