निजामती विधेयकको सन्देश प्रतिनिधिसभालाई प्राप्त


काठमाडौँ । मुलुकको प्रशासनिक सङ्घीयता कार्यान्वयनसँग प्रत्यक्ष सरोकार राख्ने सङ्घीय निजामती सेवा विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट सन्देशसहितको प्रतिवेदन प्रतिनिधिसभामा प्राप्त भएको छ ।
सभाले आवश्यक ठहर्याएको खण्डमा विधेयकमाथि राष्ट्रियसभाबाट प्राप्त संशोधनमाथि छलफल हुनसक्छ । विधायन व्यवस्थापन समितिमा लामो छलफलपछि टुङ्ग्याइएको उक्त विधेयक हिजो राष्ट्रियसभाबाट पारित भएको थियो ।
विधेयकमाथि खासगरी कर्मचारी अवकाशपछि संवैधानिक निकायमा नियुक्तिका लागि दुई वर्ष पर्खनुपर्ने ‘कुलिङ पिरियड’सम्बन्धी विषय लामो समयदेखि अलि बढी पेचिलो बनेको थियो । राष्ट्रियसभाले कुलिङ पिरियडसम्बन्धी व्यवस्थालाई स्वीकार गरेको छ, जुन विषय प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा व्यापक मन्थन भए पनि त्यो विषय छुट हुन पुगेको थियो ।
समितिमा भएको सहमतिअनुसार सभाबाट विधेयक पारित भई प्रमाणीकरण भएको वर्ष ५८, त्यसपछि ५९ र तेस्रो वर्षदेखि ६० वर्षमा कर्मचारीले उमेरहदका कारण अनिवार्य अवकाश व्यवस्था गरिएको छ । विधेयकमा अन्तरप्रदेश र स्थानीय तहमा सरुवा, श्रेणी र तहगतलगायतका व्यवस्था समेटिएको छ ।























