भरतपुर अस्पतालमा ८९ प्रतिशत ज्येष्ठ नागरिकले बिमामार्फत सेवा लिए


चितवन, भदौ १८ ।गएको महिनामा भरतपुर अस्पतालमा उपचारका लागि आएका ज्येष्ठ नागरिकमध्ये ८९ प्रतिशतले स्वास्थय बिमामार्फत उपचार गराएका छन् । ज्येष्ठ नागरिकको उपचारको भरोसा स्वास्थ्य बिमा वनेको छ ।
साउन महिनामा ६० हजार ४७२ पटक बिमामार्फत उपचार सेवा दिईएको छ । अधिकांश ज्येष्ठ नागरिक दीर्घरोगी हुने गरेका छन् । पौडेलका अनुसार मधुमेह, उच्च रक्तचाप, कोलस्ट्रोल, प्रोष्ट्रेड, थाइराइडलगायतका हुने गरेका छन् ।
स्वास्थ्य बिमामा नजोडीएका बाँकी ज्येष्ठ नागरिकलाई पनि सेवामा जोड्नुपर्ने पौडेल बताउनुहुन्छ । यसबाट विपन्न नागरिकले निःशुल्क सेवा पाउँदा उपचारबाट वञ्चित हुनुपरेको छैन । भरतपुर अस्पतालको औषधि वितरण कक्ष ९फार्मेसी०बाट औषधि लिएर फर्कदै गर्नुभएका हरिप्रसाद सिग्देल बुबाका लागि औषधि लिन आउनुभएको हो । ९३ वर्षीय बुबा प्रेमनाथ सिग्देल उपाध्यायको नियमित प्रयोग हुने औषधि छोराले लिएर जाँदै हुनुहुन्थ्यो ।
बुबाको स्वास्थ्यमा समस्या देखिए मात्र ल्याउने गरेको भन्दै उहाँले अन्य समयमा आफूले आएर औषधि लैजाने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिमाका कारण निकै सहज भएको छ ।” औषधि सकिँदा पैसा नभएर खरिद गर्न जान पाइन्न भन्ने समस्या नहुने गरेको उहाँले बताउनुभयो । हरेक महिना रु सात हजारको औषधि बिमामार्फत लैजाने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पैसाको समस्या भयो । औषधि खान पाइन भन्ने समस्या आएको छैन ।” उहाँको बुबाले उच्च रक्तचाप, प्रोष्टेड, दम र ग्याष्टिकको औषधि नियमित खाँदै आउनुभएको छ ।
अस्पतालमा भरतपुर महानगरपालिका–५ की ७२ वर्षीया केशवती दवाडीका लागि श्रीमान् औषधिको लाइनमा हुनुहुन्थ्यो । उहाँले श्रीमतीको बिमाको कार्ड देखाउँदै भन्नुभयो, “सधैँ आएर औषधि लैजाने गरेको छु ।” सरकारले बिमामार्फत ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार र मासिक भत्ता दिन थालेपछि ज्येष्ठ नागरिक निकै खुसी हुने गरेका छन् ।
भरतपुर अस्पतालमा उपचारका लागि आउने ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै गए पछि छुट्टै बहिरङ्ग सेवा ९जेरियाट्रिक ओपिडी० सुरु गरिएको छ । ज्येष्ठ नागरिक बहिरङ्ग सेवाको संयोजन गर्नुभएका डा प्रतीक न्यौपानेका अनुसार ज्येष्ठ नागरिकले अरुसरह उपचार लिँदा लामो समय पालो पर्खनुपर्ने भए पछि यही भदौ १५ गतेबाट छुट्टै बहिरङ्ग सेवा सुरु गरिएको बताउनुभयो । अस्पतालले १६ श्ययाको ज्येष्ठ नागरिक वार्ड पनि सञ्चालन गरेको छ । यसका अतिरिक्त अन्य वाडहरुमा पनि राखेर ज्येष्ठ नागरिकलाई उपचार गरिँदै आएको छ ।























