सूचना / प्रबिधि

दार्चुलामा तीन सातादेखि टेलिफोन सेवा अवरुद्ध

रासस
२०८२ भदौ १७ | मध्यान्ह ०४:०५ बजे

दार्चुला । चीनको सीमा नजिकको दार्चुलाको गाउँ तिङ्करमा तीन सातादेखि सञ्चार विच्छेद भएको छ । 

गत साउन २८ गते आएको बाढीपछि तिङ्कर गाउँमा टेलिफोन सेवा अवरुद्ध भएको हो । तिङ्कर गाउँमा नेपाल टेलिकमको टुजी सेवा जोडिएको थियो । 
 
तर, टेलिफोन टावरमा चट्याङले क्षति पुर्‍याएपछि टेलिफोन सेवा बन्द भएको हो । फोन सेवा नहुँदा समस्या भएको स्थानीय आस्तिक तिङ्करीले बताए । गाउँमा भिसेट फोन पनि छ । तर निरन्तरको वर्षाका कारण त्यसले राम्रोसँग काम नगरेको उनले बताए । 
व्यास गाउँपालिका वडा नम्बर १ को तिङ्करमा ७० परिवारको बसोबास छ । यहाँका नागरिक गत जेठमा सदरमुकाम खलङ्गाबाट कुञ्चा (बसाइँ) सरेका थिए ।
 
व्यास गाउँपालिका वडा नम्बर १ का वडा सचिव विनोदसिंह बुढाथोकीले भने,“गत साउन २८ गतेदेखि नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयसँगको सम्पर्क टुटेको छ ।” यहाँका बासिन्दा मङ्सिरमा फेरि खलङ्गा झर्ने गर्छन् ।

नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले तिङ्करको टावरमा जडान भएको सफ्टवेयरमै समस्या भएको हुनसक्ने बताए । 

“सेवा सञ्चालन नभएकाबारे केन्द्रीय कार्यालयलाई जानकारी गराएका छौँ । समस्या समाधानको प्रयास भइरहेको छ”, उनले भने । 

कमेन्टहरु