पार्टीप्रतिको सकारात्मक माहोललाई सङ्गठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन


काठमाडौँ, भदौ १६ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्गठन निर्माणको निम्ति आत्मसमिक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
पार्टी सरकारमा रहँदा हासिल गरिएका उपलब्धि, त्यसपछिको खबरदारी अभियान तथा जनसङ्गठनहरूले सञ्चालन गरेका गतिविधिका कारण माओवादीप्रति जनविश्वास पुनः बढेको अध्यक्ष दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सरकारमा हुँदा गरेका काम र अहिले सडकबाट उठाएका आवाजकै कारण जनभावना सकारात्मक बनेको छ, अब त्यसलाई सशक्त सङ्गठनमार्फत संस्थागत गर्नु जरुरी छ ।”
सङ्गठन निर्माणलाई अबको अभियानको मूलधार मानेर निर्वाचनमा जानुपर्नेमा अध्यक्ष दाहालले जोड दिनुभयो । सुदूरपश्चिम राजनीतिक र साङ्गठनिक हिसाबले माओवादी केन्द्रको सम्भावनायुक्त प्रदेश रहेको उल्लेख गर्दै उहाँले त्यहाँका नेता तथा कार्यकर्तालाई व्यवस्थित, योजनाबद्ध रुपमा परिचालन गर्नुपर्ने आवश्यकता भएको औँल्याउनुभयो ।
सो अवसरमा पार्टीका उपमहासचिव तथा सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोख्रेलले सुदूरपश्चिममा पार्टीको भावी रणनीति, साङ्गठनिक विस्तार तथा स्थानीय तहसम्मको पहुँच विस्तारबारे स्पष्ट कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।























