समाचार

फोहाेरमैला व्यवस्थापन गर्न ‘सफ्टवेयर’ सार्वजनिक

रासस
२०८२ भदौ १६ | बिहान ०९:०५ बजे

पाटन । नेपाल टेक मार्केटले नेपालको फोहाेरमैला व्यवस्थापनका लागि आधुनिक (स्मार्ट) ‘सफ्टवेयर’ प्रणालीको सार्वजनिक गरेको छ । आधुनिक प्रविधिको विकाससँगसँगै सहरी सरसफाइका लागि सहजता ल्याउन सोलिड वेष्ट एसोसिएसन म्यानेजमेन्ट नेपाल, अपकोड नेपाल र नेपाल टेक मार्केटको सहकार्यमा फोहाेर व्यवस्थापन प्रणाली सार्वजनिक गरिएको नेपाल टेक मार्केटका प्रमुख कार्यकारी अधिकृत चीरञ्जीवी अधिकारीले जानकारी दिए । 

“यो पहल केवल प्रविधि मात्र होइन, सामाजिक जिम्मेवारीसँग जोडिएको हाम्रो सामूहिक संकल्प हो, फोहाेर समस्या मात्र होइन, यसलाई सदुपयोग गरेर पुनः प्रयोग गर्ने, पुनः चक्रण गर्ने, नयाँ प्रविधि ल्याउने र दीगो समाधान सिर्जना गर्ने सुनौलो अवसर हो”, अधिकारीले भने । 

उनले यो प्रणाली उपभोक्ताको आवश्यकता र बजारको मागलाई ध्यानमा राखेर विकसित गरिएको बताए । उनले यस प्रणालीमा कृत्रिम बुद्धिमत्ताको प्रयोग गरिएको जानकारी दिँदै यसले फोहर व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउने विश्वास व्यक्त गरे । 

आइतबार ललितपुरमा आयोजित कार्यक्रममा फोहाेर ब्यवस्थापन प्रणालीबारे जानकारी दिँदै अपकोड नेपालका वरिष्ठ सफ्टवेयर इञ्जिनियर मंगलकृष्ण प्रधानले फोहाेरमैला व्यवस्थापन प्रणालीलाई प्रयोगकर्तामैत्री बनाउन नवीनतम प्रविधि र विश्वव्यापी प्रचलन समावेश गरिएको बताए । 

“यो प्रणाली बलियो, सुरक्षित र प्रयोग गर्न सजिलो छ । यसले फोहाेर संकलन र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँछ, नेपालको भविष्यको नीति कागजमा मात्र होइन, सपना देख्ने, सिर्जना गर्ने र सहकार्य गर्ने हाम्रा हातमा लेखिन्छ, आज हामी केवल एउटा सफ्टवेयरको विकास मात्रै गरिरहेका छैनौँ,” उनले भने, “एउटा व्यवस्थापन प्रणालीको विकास गरेर सुन्दर र सुखी भविष्यका लागि अभियान सुरु गर्दछौँ । सुन्दर र सफा सहरको दीगो विकासको लागि सचेतनाका लागि नागरिकको अभियानलाई सफल बनाउन लागि रहेका छौँ ।” 

इञ्जिनियर प्रधानका अनुसार यो फोहोर व्यवस्थापन सफ्टवेयरको सम्भावित प्रयोगकर्ताहरू फोहाेरमैला व्यवस्थापनमा काम गर्ने संस्था, घरयासी फोहोर उत्पादन गर्ने, हस्पिटल, होटेल, व्यवसायी, विद्यालय, सरकारी संस्था आदि यो सफ्टवेयरका प्रयोगकर्ता हुन् ।

यो सिस्टममार्फत प्रत्येक फोहोर व्यवस्थापन गर्ने कम्पनी, फोहोर उत्पादन गर्ने संघसंस्था, घरबीच अन्तरसम्पर्क गर्न सकिने उनले बताए । फोहोर व्यवस्थापन गर्न लाग्ने शुल्कको अनलाइन भुक्तानी गर्नु साथसाथै यो सिस्टमले नगरपालिकाको लागि छुट्टै ड्यासबोर्ड उपलब्ध गराएको छ । 

नगरपालिकाका युजरबाट आफ्नो वडामा फोहोर व्यवस्थापनका के–के गतिविधिहरू भइरहेको छ भनेर थाहा पाउन सक्नेछ ।

यो फोहोर व्यवस्थापन प्रणालीले नेपालमा फोहोर व्यवस्थापनको क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्य राखेको उनले जानकारी दिए । 

यो प्रणालीमा फोहोर बोक्ने सवारीमा जीपीएस प्रणालीको उपयोग, फोहोरको वर्गीकरणअनुसार व्यवस्थित पुनः उपयोगलाई जोड दिने जानकारी गराइएको छ ।

नेपाल टेक मार्केटका प्रमुख व्यावसायिक अधिकृत सुष्मिता पौडेलले यस प्रणालीले प्रयोगकर्ताबाट सकारात्मक प्रतिक्रिया पाएको बताइन् । 

“प्रविधिको उपयोगबाट हुने डिजिटल रुपान्तरणले जनजीवनलाई सहज बनाउँदै हरेक घरघरलाई फोहोरको वर्गीकरण गर्न प्रेरित गर्छ,” उनले भनिन्, “यसले स्थानीय तहको कार्यक्षमता बढ्छ । सफा सहर कायम गर्दै समुदायलाई सबल बनाउन प्रेरित गर्छ ।” 

यस अभियानले नीति निर्माता, नगरपालिका, निजी क्षेत्र, नवप्रवर्तनकर्ता र समुदायलाई एकताबद्ध गराउँदै सफा र सुन्दर सहर निर्माणतर्फ ठोस कदम चाल्ने लक्ष्य राखेको जनाइएको छ । 

कमेन्टहरु