राष्ट्रियसभाको बैठक आज बस्दै


काठमाडौँ । राष्ट्रियसभाको बैठक आज अपराह्न ३ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ। बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची तय भएको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। आजै दुई संसदीय समितिको बैठक पनि बस्ने भएका छन्।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ सम्बन्धी विषयमा सरोकारवालासँग छलफल हुनेछ। सोही समयमा विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामती विधेयक, २०८० को मस्यौदा प्रतिवेदन’मा छलफल हुने जनाइएको छ। दुवै समितिको बैठक बिहान ११ः३० बजे बस्ने छ ।























