प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

रासस
२०८२ भदौ १५ | मध्यान्ह ०४:०५ बजे

थियानजिन (चीन), भदौ १५ । प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ ।
शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका दुई प्रधानमन्त्रीबीच आज भेटवार्ता भएको हो । भेटका अवसरमा दुई देशबीचको सांस्कृतिक, कूटनीतिक र आर्थिक सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले नेपाल आगामी वर्ष विकासशील मुलुकमा स्तरोन्तति हुने अवगत गराउँदै पर्याप्त प्रतिफल प्राप्त हुने ऊर्जा क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभयो । उहाँले समकक्षी चिङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि गर्नुुभयो ।
भेटमा भ्रमण दलमा सहभागी मन्त्रीहरु, सांसदहरु र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो























