अवैध चोरीपैठारी र निकासी रोक्नका लागि समन्वय गरेर काम गर्नुपर्योः गृहमन्त्री लेखक


वीरगञ्ज (पर्सा), भदौ १५ । हमन्त्री रमेश लेखकले सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन उत्साहजनक भएको बताउनुभयो ।
“अघिल्लो आवको तुलनामा गत आवमा राजस्व सङ्कलन उत्साहजनक ढङ्गले वृद्धि भएको छ । चालु आवमा पनि लक्ष्यअनुसारको सङ्कलन हुने अपेक्षा छ”, उहाँले भन्नुभयो, “चोरी तस्करी नियन्त्रणका लागि सम्बद्ध सबै निकायले हातेमालो गरेर अघि बढ्नुपर्ने हुन्छ ।”
पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुरक्षा निकायले बिलबिजक बिना तस्करीका मालवस्तु ओसार्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । “भारतीय नागरिकले नेपालका कम आयआर्जन भएका नागरिकको नागरिकताको दुरुपयोग गरी विभिन्न ‘फर्म’हरु दर्ता गरी सोहीमार्फत तस्करी गर्ने प्रवृत्ति देखिएको छ”, उहाँले भन्नुभयो, “राजस्व चुहावट नियन्त्रणका लागि सबै निकायबीच समन्वय हुन आवश्यक छ ।”
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जिल्लाको शान्ति सुरक्षा र राजस्व चुहावट नियन्त्रणका लागि सम्बद्ध सरोकारवाला निकायसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल प्रहरी मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुरवेदीले भन्सार नाका वरपर गोदाम खोल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको बताउनुभयो ।























