कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई


काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) बिहान पाँच दिने चीन भ्रमणका लागि प्रस्थान गरेकोले कार्यवाहकको जिम्मेवारी सिंहलाई दिइएको हो ।
राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकेको जनाएको छ । यसअघि पनि प्रधानमन्त्री ओलीले आफू देश बाहिर जाँदा सिंहलाई नै कार्यवाहकको जिम्मेवारी दिने गरेका थिए । सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन चीन गएका प्रधानमन्त्री ओली यही भदौ १८ गते बुधबार फर्किने छन् ।
प्रतिनिधिमण्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाली कांग्रेसका उपसभापति तथा सांसद पूर्णबहादुर खडका, नेकपा एमालेका सचिव तथा सांसद छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका अधिकारी छन् ।























