देश

नारायणी अस्पतालमा अत्यावश्यक औषधि र जनशक्ति तयारी अवस्थामा राख्नुपर्छः महामन्त्री थापा

रासस
२०८२ भदौ १३ | मध्यान्ह ०३:०५ बजे

वीरगञ्ज (पर्सा), भदौ १३ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वीरगञ्ज आसपासमा देखिएको हैजा सङ्क्रमण नियन्त्रणका लागि अत्यावश्यक औषधि र जनशक्ति तम्तयार अवस्थामा राख्नुपर्ने बताउनुभएको छ ।

आज यहाँ नारायणी अस्पतालमा हैजाका बिरामी र बिरामीका आफन्तहरूसँग भेटघाटपछि अस्पताल प्रशासनसँग छलफल गर्दै उहाँले हैजा सङ्क्रमित बिरामीको उपचारमा कुनै पनि खालको कमजोरी नगर्न अनुरोध गर्नुभयो ।महामन्त्री थापाले भन्नुभयो,“हैजाको उपचार गर्न आउने बिरामीले निःशुल्क रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नुपर्छ । त्यसका लागि अस्पताल प्रशासनले अत्यावश्यक औषधि, खोप र जनशक्तिको पनि उचित ढङ्गले प्रबन्ध गर्न आवश्यक छ ।”

उहाँले आफू काठमाडौँ फर्किएपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र सरोकार भएका निकायसँग समन्वय गरेर अत्यावश्यक औषधि र अन्य सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महामन्त्री थापाले अस्पतालको सरसफाइका विषयमा पनि विशेष चासो दिन आग्रह गर्नुभयो ।

“म स्वास्थ्यमन्त्री हुँदा पनि देशभरिका अस्पतालमा सरसफाइ मुख्य समस्याका रूपमा रहेको अनुभव गरेको थिएँ । मैले करिब नौ महिना मन्त्री भएर काम गर्दा यो समस्या समाधानको प्रयास गरे पनि सकिन”, उहाँले भन्नुभयो, “अस्पतालको परिसर र शौचालय मात्रै फोहर देखिने विषय होइन । सरसफाइ जनशक्ति व्यवस्थापनलगायत विविध विषय रैछन् । यो अस्पतालको सुशासन र अन्य बहुआयामिक विषयसँग पनि जोडिएको छ ।”

महामन्त्री थापाले सरकारी र निजी अस्पतालमा उपचारका लागि जाँदाखेरि फरक महसुस गर्ने विषय पनि अस्पतालको सरसफाइ नै रहेको उल्लेख गर्नुभयो । “प्रायःजसो निजी अस्पताल पनि सरकारी अस्पतालमा नै काम गर्ने जनशक्तिबाट नै सञ्चालन हुने हो, तर निजी र सरकारी अस्पतालबीच सरसफाइमा धेरै फरक छ । त्यसैले यस विषयमा ध्यान दिन जरुरी छ”, उहाँले भन्नुभयो ।

महामन्त्री थापाले नारायणी अस्पताललाई वीरगञ्ज र आसपासको क्षेत्रको आसा तथा भरोसाको केन्द्रका रूपमा विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

महामन्त्री थापाले नारायणी अस्पतालको पूर्वाधार निर्माणमा हुने गाँठो फुकाउनका लागि आफू जुनसुकै सहयोग र समन्वय गर्न पनि तयार रहेको बताउनुभयो । 

कमेन्टहरु