नवलपुरको पहाडी भेगमा इलाका प्रशासन कार्यालय नहुँदा नागरिकलाई सास्ती


नवलपुर(बुलिङटार), भदौ १३ । पुर्वी नवलपरासीको पहाडी भेगमा इलाका प्रशासन कार्यालय नहुदा बुलिङ्टार गाउँपालिका र बौदीकाली गाउँपालिकाका स्थानीय नागरिकलाई सेवा लिन सदरमुकाम कावासोती जानुपर्ने समस्या बर्षौदेखी झेल्नु परेकोे छ । केही दिन पहिले सङ्घीय सरकारले देशका थप २३ स्थानमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णयमा पुर्वी नवलपरासीका बुलिङटार अत्रोली नपरेपछि थप समस्या भएको हो ।
सदरमुकामबाट भौगोलिक रुपले बौदीकाली गाउँपालिका र बुलिङटार गाउँपालिकाका स्थानीयलाई प्रशासनका सेवा लिनका लागि कावासोती जान समय र पैसा दुबै बढी खर्च हुने गर्दछ । बुलिङटार र बौदीकाली गाउँपालिकाका स्थानीयहरु इलाका प्रशासनका सुबिधा लिन टाढा रहेकाले त्यहीमाथि ग्रामिण सडकको यात्रा गरी सदरमुकाम कावासोती धाउन बाध्यता रहेको छ । अझै भनेको समयमा नियमित सवारी साधन नचल्नु, सवारी साधन चलिहाले पनि बर्षादको समयमा बाढिपहिरोका कारण दुख झेल्नु पर्ने अवस्था रहेको छ । सो कारणले यस क्षेत्रका नागरिकहरु नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचयपत्र बनाउन अहिले पनि सदरमुकाम कावासोती गाडी रिजार्ब गरेर धाउनु पर्ने बाध्यता रहेका छन ।
यसक्षेत्रमा इलाका प्रशासन कार्यालय नहुदा बिहानै उठेर हिड्दा पनि दिनको करिब २/३ बज्ने र सहज रुपमा सेवा लिन नपाउँदा स्थानीय नागरिकले हैरान ब्यहोर्नु परेको छ । नागरिकता, पासपोर्ट लगायत राष्ट्रिय परिचयपत्र लिन पनि यसक्षेत्रका नागरिकले कम्तिमा २ देखि ३ दिनको समय खर्चिनु पर्ने बाध्यता छ । त्यसैले यसक्षेत्रमा इलाका प्रशासन कार्यालयको अति आवश्यक रहेको छ ।
यसक्षेत्रका पालिका अध्यक्षहरुको आफू अनुकूलका तर्कले पनि नागरिकलाई इलाका प्रशासनको चिन्ता रहे पनि राजनीति गर्ने स्थानीय नेताहरुले भने आफूहरुको अनुकूलमा इलाका प्रशासन हुनुपर्ने तर्क राख्दै आएका छन् ।
संघीय सरकारले केही दिन अगाडि देशका थप २३ स्थानमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेसंगैं यस क्षेत्रमा नपरेपछि यहाँका राजनीति दलका स्थानीय, प्रदेश र संघीय नेताकार्यकर्ताले आरोप प्रत्यारोपमा समाजिक संजाल तताएका छन । यसक्षेत्रकालाई पायक पर्ने भनेर बुलिङटार गाउँपालिका- ६ अत्रोलीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने स्थानीय, जिल्ला हुँदै संघीय सरकारलाई बिगतदेखि दबाव दिदै आएपनि संघीय सरकारले वेवास्ता गरेको स्थानीयको व्यापक गुनासो रहेको छ ।
यसक्षेत्रका स्थानीयले बिगतमा भएको निर्णय विषयवस्तुलाई कार्यान्वयन गर्नुभन्दा बुलिङटार गाउँपालिका- १ का स्थानीय नागरिकलाई सहज हुने ढंगले सोही गाउँपालिका- ३ बुलिङटारमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि बुलिङटार गाउँपालिकाका वडा नम्बर १ र २ का स्थानीय एक हुन जरुरी रहेको यहाँका स्थानीयले बताएका छन । यसको लागि अनावस्यक हल्ला गर्नु र विरोधको कुनै तर्क नरहेको स्थानीयले बताए ।
यसक्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि बुलिङटार र बौदीकाली गाउँपालिकाका अध्यक्ष ईआर दिपेन्द्र सुनारी मगर र प्रकाश ओझासंग यस अनलाईनले प्रतिक्रिया लिनका लागि पटक पटक फोन सम्पर्क गर्दा सम्पर्कमा आएन ।
पुर्वी नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद माननीय डा: शशांक कोईरालाले यहाँका स्थानीय सरकारले आफुसंग कुनै समन्वय नगरेको र सर्वपक्षीय सहमति अनुसार जिल्ला सुरक्षा समितिबाट सिफारिस गरेर पठाउनका लागि आफूले पहल गरेको बताउनुभयो । यसमा आफूले कुनै राजनीति गर्नुभन्दा पनि सबैलाई पायक पर्ने स्थानमा नै राख्नु उपयुक्त हुने उहाँको भनाइ छ ।























