रूबी कुमारी साहको हत्याका आरोपीले आफ्नो पनि ज्यान लिए


रौतहट । युवतीको हत्याका आरोपी युवकले आफैँले आगो लगाएर ज्यान गुमााएका छन्। रौतहटकी २६ वर्षीया रूबी कुमारी साहको हत्याका आरोपी लक्ष्मण पासवानले आफैँलाई आगो लगाएर ज्यान गुमाएको प्रहरीले जानकारी दिएको छ।
बुधबार बिहान रौतहट प्रहरीले पासवानलाई शरीरमा आगो लगाएको अवस्थामा फेला पारी कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि पठाएको थियो। उनको उपचारको क्रममा बुधबार अपराह्न मृत्यु भएको काठमाडौँ प्रहरीले जानकारी दिएको हो।
रौतहटको माधवनारायण नगरपालिका- ६ माधवपुर बिसुनपरवा–मानपुर सडक खण्डमा पासवान जलेको अवस्थामा भेटिएका थिए । उनले पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएको प्रहरीले बताएको छ। उनले रूबी कुमारीको हत्या आफूले गरेको भिडियोमा स्वीकार गरेका थिए। शरीरका विभिन्न भाग जले पनि उनी बुधबार बिहानसम्म बोल्न सक्ने अवस्थामा रहेको तर अपराह्न उनको ज्यान गुमेको प्रहरीले जानकारी दिएको छ।
गत शनिबार राति साढे ९ बजे गौर नगरपालिका-९ मुडवलबा गेट नजिक सडक किनारमा फेला गरेको शंकास्पद सुटकेशमा रूबीकुमारीको शव भेटिएको रौतहट प्रहरीले जानकारी दिएको छ।























