सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ


गुल्मी । मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको सिमलटारीबाट प्यूठानको मच्छीसम्मको सडक निर्माणमा ढिलाइ भएको छ । निर्माण व्यवसायीले तोकिएको समयमा सडक निर्माण नगर्दा वर्षातमा यात्रुहरूले समस्या भोग्दै आएका छन् । सडक निर्माण सुरु भएको करिब तीन वर्षमा सो सडकखण्डमा २६ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । मदनभण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इञ्जिनियर प्रभात तिवारीका अनुसार उक्त सडकमा ३३ महिनामा २६ प्रतिशत भौतिक र २३ प्रतिशत वित्तीय प्रगति भएको छ ।
नागरिक समाजले पनि पटक पटक गुनासो गरेपछि गुल्मीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाको नेतृत्वमा स्थानीय तह र योजना कार्यालयको संयुक्त टोलीले उक्त सडकखण्डको हालै स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा कामको प्रगति र सडकको अवस्थाबारे जानकारी लिइएको छ । सडकको सबवेस, बेस र अस्फाल्ट प्रविधिबाट कालोपत्रलगायतका धेरै काम बाँकी रहेको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए । मदनभण्डारी राजमार्ग योजना कार्यालयले निर्माण व्यवसायीलाई कामको गति बढाउन निरन्तर ताकेता गर्दै आएको जनाएको छ ।
लगातार काम गरेको खण्डमा २०८३ असार मसान्तसम्म उक्त सडक निर्माण सम्पन्न गर्ने कार्यालयको लक्ष्य छ । निर्माण व्यवसायीको तर्फबाट इञ्जिनियर किसन शाहका अनुसार आर्थिक समस्याका कारण काममा ढिलाइ भएको हो । उनले पुस मसान्त र असार मसान्तमा कार्यालयबाट भुक्तानी पाउन ढिला भएका कारण काममा असर परेको बताए । काम गर्न म्याद थपको प्रक्रिया अघि बढेको र थपिएको म्यादभित्रै सम्पन्न गर्ने उनले बताए ।























