वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजा, अहिलेसम्म ७९ जना सङ्क्रमित फेला


वीरगञ्ज (पर्सा), भदौ ९ । वीरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिए पनि अहिलेसम्म हैजाको स्रोत भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । गत शुक्रबारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका सङ्क्रमित बिरामी भेटिँदै आइरहेका छन् ।
नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले आइतबारसम्म अस्पतालमा ३० जना बिरामी भर्ना भएको जानकारी दिनुभयो । “नारायणी अस्पतालमा हैजाको उपचारको लागि श्यया र जनशक्ति दुवैको अभाव देखिएको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म कुनै पनि निकायबाट आवश्यक पर्ने सहयोग आइपुगिसकेको छैन । अहिलेसम्म कागजी प्रक्रियामा सहयोग गर्ने भने तापनि वास्तविक रूपमा आवश्यक पर्ने जनशक्ति र अन्य उपचारका सामग्री आइपुगिसकेको छैन ।”
प्रवक्ता सिंहले हैजाको महामारीको साथसाथै अन्य विभिन्न किसिमका बिरामीको चाप पनि थेग्नै नसकिने प्रकृतिको रहेको गुनासो गर्नुभयो । “हामीले यो महामारीबाहेक अन्य खालका विभिन्न महामारीसँग पनि लडिरहेका छौँ । सर्पदंशको बिगबिगी छ । ज्वरो, प्यारालाइसिसलगायत बिरामीको चाप भए पनि जनशक्ति पर्याप्त नहुँदा भने व्यवस्थापन गर्न मुस्किल भइरहेको छ”, उहाँले भन्नुभयो, “भएका जनशक्तिले अत्यधिक काम गर्न परिरहेको छ । तर अस्पतालमा अहिले आन्तरिक र बाह्य दुवै खालको सहयोग छैन ।”
प्रवक्ता सिंहले वीरगञ्जमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि आएर पानीको परीक्षणलगायतका आवश्यक काम गरिरहेकाले पनि सम्भवत् आजै हैजाको स्रोतको प्रारम्भिक रिपोर्ट आउन सक्ने जानकारी दिनुभयो । नारायणी अस्पतालमा जाँच गर्दा २६ जना बिरामीमा कलेरा सङ्क्रमित देखिएका छन् । त्यस्तै तराई अस्पतालमा २५ जना, नेशनल मेडिकल कलेजमा नौ जना, भवानी अस्पतालमा तीन जना कलेरा सङ्क्रमित बिरामी भेट्टिएका हुन् ।
त्यस्तैगरी वीरगञ्ज हेल्थ केयर, अली अर्थो अस्तताल, मङ्गलम प्याथोलोजीमा दुई–दुई जनाको दरले आठ जना हैजा कोलेरा सङ्क्रमित बिरामी भेट्टिएका छन् । थप आठ जना बिरामी सोमबार विहानीको समयमा थपिएको सोको विवरण कुन अस्पतालमा परीक्षण गरिएको खुल्न सकेको छैन ।























