डेंगु सङ्क्रमण बढ्दै, कुन प्रदेशमा कति सङ्क्रमित ?


काठमाडौँ । डेंगु सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेंगु सङ्क्रमण पनि बढ्न थालेको हो ।इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार तीन हजार २४७ जनामा डेंगु सङ्क्रमण देखिएको छ । पछिल्लो एक हप्तामा २११ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यसैगरी, डेंगु सङ्क्रमणबाट दुई जनाको निधन भएको छ ।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएपछि त्यसले टोकेपछि डेंगु रोग लाग्दछ । डेंगु रोकथामका लागि सरकारले प्रत्येक शुक्रबार लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गरेको छ । सन् २०२४ मा डेंगु सङ्क्रमण ७६ जिल्लामा फैलिएको थियो भने यसबाट १५ जनाको मृत्यु हुनुका साथै ४१ हजार ८६५ जना सङ्क्रमित भएका थिए ।


















